सोमबार, बैशाख ०७, २०८३

नेपाल एयरलाइन्सको विमानवाट चीन भ्रमनमा राष्ट्रपति भण्डारी

सियान । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज चीनको सियान आइपुग्नु भएको छ । नेपाल बायुसेवा निगमको बिमानमार्फत सियान आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई सियान विमान स्थलमा चिनियाँ राजदुत र चीनका लागि नेपाली राजदुतले स्वागत गर्नुभएको छ ।

चिनियाँ राजदुत यू होङ र नेपाली राजदुत लीलामणि पौडेलले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको हो । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट आज चीनको सान्सी प्रान्तको
सियान आइपुग्नुभएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदाधिकारीले विदाई गर्नुभएको थियो ।

त्यसअवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपतिको विदाइका लागि सरकारका वरिष्ठ मन्त्रीहरु, उच्च अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीसंग सान्सी प्रान्तका कम्युनिष्ट पार्टीका शीर्ष नेता एवं सरकारी अधिकारीहरुले भोलि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी भोलि साँझ सियानबाट बेइजिङ पुग्नुहुनेछ । उहाँले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बिआरआइ) फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।

बिआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन, संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकास लगायतका बिषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ । भ्रमण दलमा सहभागी पत्रकार तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलका अनुसार राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा बेइजिङमा चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटबार्ता हुनेछ ।

दुवै मुलुकका राष्ट्रपतिबीच उच्चस्तरीय वार्तामा केही सम्झौतामा हस्ताक्षरसमेत हुनेछ । चिनिया समकक्षी सी जिनपिङको निमन्त्रणामा भएको यो उच्चस्तरीय भ्रमण नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हो ।
राष्ट्रपति भण्डारी तिब्बत स्वायत्त प्रदेशको ल्हासा हुंदै बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ । राष्ट्रपतिसंगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित सांसद, नेपाल सरकारका सचिवलगायतको सहभागिता रहेको छ । नेपाल वायु सेवा निगमको जहाज चढेर चीनको सियान पुगेकी छन् ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।