टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोणमोना) जापानले आउँदो अप्रील २९ तारिख सोमबार बृहत साँगीतिक कार्यक्रम ‘मोना नाईट’ आयोजनाको तयारी तीव्र बनाएको छ ।
असहाय, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि सहयोग गर्ने उद्देश्यले’मोना नाइट’ का लागि नेपालबाट शिव परिवार, ज्योती मगर र गगन पुन जापान आउने भएका छन् ।नेपालबाट आमन्त्रित चर्चाको शिखरमा रहेका कलाकारहरुको प्रमुख आकर्षण रहने सो कार्यक्रममा जापानमै रहेका श्याम शितल, खड्क पुन लगायतका कलाकारहरुको पनि सहभागिता रहने आयोजक संस्था मोना जापानले जनाएको छ ।
कार्यक्रम टोकियो नाकानो स्थित नाकानो जिरो हलमा अपरान्ह साढे चार बजेदेखि हुने र कार्यक्रममा स्थानीय कलाकर्मीहरुको साथमा देउराली पञ्चे बाजा समुहको पञ्चे बाजा, म्याग्दीमा प्रचलित परम्परागत लोकसँस्कृति झल्किने थालीनाच, झ्याउरे नाच लगायतका प्रस्तुतीहरु पनि रहने मोना जापानका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा उत्साहजनक उपस्थित भई शोभा बढाईदिन मोना नाइट कार्यक्रमका संयोजक ददिवल खड्काले जापानबासी समस्त म्याग्देलीहरु, बिभीन्न संघ संस्थाका प्रतीनिधीहरु लगाएत जापान स्थीत सम्पुर्ण नेपालीहरुमा हार्दिक निमन्त्रणाका साथै अपिल गरेका छन् ।
सोही कार्यक्रम मे १ तारिखका दिन मोनाको नागोया क्षेत्रीय कमिटीको आयोजनामा नागोयामा र ३ मे मा फुकुओकामा पनि हुने मोना जापानका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।
‘मोना नाइट’मा जापानबासी नेपाली र विशेष गरी म्याग्देलीहरुलाई सहभागी भई मनोरञ्जनसंगै समाजसेवामा योगदान दिने अवसर भएकाले उपस्थित भई भव्य बनाईदिनका लागी कार्यक्रम आयोजक संस्था मोना जापानले अपील गरेको छ ।


