Nepali date


आइतवार, साउन ५, २०७६

युवा परिचालन लागि युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलको ११ टिप्स

माधव ढुंगेल ।
-युवाको सहभागिताविना राष्ट्रिय युवा परिषद् सम्भव छैन । कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवा भएको यो जानसांख्यिक लाभको समय हो । हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ । सायद यो समय फेरि आउने छैन । युवालाई राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरी उनीहरूलाई सर्वांगीण विकास र सशक्तीकरणमा केन्द्रित गर्नुपर्छ ।
विदेश पलायन रोकेर दक्ष जनशक्तिको निर्माण गरी युवाका लागि नेपालमै बसी काम गर्ने उपयुक्त युवामैत्री वातावरण निर्माण गर्नुपर्छ । युवाका लागि उद्यमशीलता, विकास, वित्तीय साक्षरताको तालिम दिएर सहुलियतपूर्ण कर्जाको व्यवस्था गरियो भने सकारात्मक यात्राको प्रारम्भ हुनेछ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा विशेष अवसर प्रदान गर्न संवैधानिक व्यवस्थालाई तीव्र गतिका साथ कार्यान्वयन गर्दै जाने विश्वसनीय योजना युवाले खोजिरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् प्रस्ताव नं २२५०, दिगो विकास लक्ष्य र युवा भिजन २०२५ ले युवाको विकास र सहभागितामा जोड दिएको छ । एकीकृत कार्य ढाँचा निर्माण गरी कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिमा युवाको सार्थक योगदान सुनिश्चित गर्नु आजको प्राविधिक आवश्यकता हो । संविधान, कानुन, नीति र योजनामा युवाका विषयले प्राथमिकता पाउन थालेका छन् । तर, बजारको माग र जनशक्तिको आपूर्तिबीच सामञ्जस्य नहुनु, युवासँग सम्बन्धित तथ्यांकीय आधार नहुनु, विभेद, कुरीति र अन्धविश्वासका कारण भनेजस्तो रूपान्तरण गर्न सकिएको छैन ।
युवाको सर्वांगीण विकास, उद्यमशीलता र रोजगारीका अवसर सीमित हुनुजस्ता कारणले युवा विकासको गति भनेजस्तो अगाडि बढ्न सकिरहेको छैन । युवामा सकारात्मक सोचको निर्माण, स्वयंसेवी संस्कृतिको विकास, वित्तीय स्रोतमा युवाको सहज पहुँचको सुनिश्चितता, श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने क्षमता विकास, युवालक्षित जीवनोपयोगी, प्राविधिक र व्यावसायिक शिक्षा सर्वसुलभ रूपमा उपलब्ध गराउन, युवा प्रतिभा पलायनलाई रोक्न तथा तल्लो एकाइसम्म युवा क्लब र शैक्षिक संस्थासँग स्काउट तथा विद्यार्थी क्लब विस्तार गर्नु चुनौतीपूर्ण छ ।

युवाहरूको संख्या ठूलो हुनु, स्थानीय निर्वाचनमा हजारौँ युवा उम्मेदवार हुनु झन्डै १४ हजार युवा निर्वाचित हुनु, प्रदेशमा र केन्द्रीय संसद्मा युवा प्रतिनिधिको विद्यमान अवस्थाले नीति निर्माणमा युवाको उपस्थिति घनीभूत भएको छ । संघीयताको कार्यान्वयन र स्थायी सरकार निर्माण युवाको अझै आशा र विश्वासको आधार बनेको छ ।
विश्वव्यापीकरण र सूचना प्रविधिको विकासमा सरकारको प्राथमिकता हुनु, स्वदेशमा रोजगार र स्वरोजगारका अवसर अभिवृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राख्नु, युवाका लागि उद्यमशीलताका क्षेत्रमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याइनु, निमित्त थप उत्साह जगाउने विषय बनेका छन् ।
युवा विकासका लागि संवैधानिक व्यवस्था गरिनुका साथै नीति, योजना, कार्यक्रमका साथमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोष, स्काउटजस्ता संस्था निर्माण गरी संरचनागत प्रबन्ध मिलाइनु युवाका लागि अझै खुसीको विषय बनेको छ । तीनवटै सरकारका अंगमा युवा हेर्ने संरचनागत व्यवस्था गर्नुपर्छ । युवालाई स्वस्थ, खुसी, आशावादी, मानवतावादी र सिर्जनशील बनाउनुपर्छ । राष्ट्रियताप्रति सचेत र कर्तव्यप्रति बफादार युवा तयार गरी उद्यमशीलताको क्षेत्रमा एउटा नयाँ क्रान्ति ल्याउनुपर्छ ।
युवाको सर्वांगीण विकास गर्नुपर्छ । त्यसबाटै सरकारका अंगमा युवा हेर्ने संरचनागत व्यवस्था गर्नुपर्छ । युवालाई स्वस्थ, खुसी, आशावादी, मानवतावादी र सिर्जनशील बनाउनुपर्छ । राष्ट्रियताप्रति सचेत र कर्तव्यप्रति बफादार युवा तयार गरी उद्यमशीलताको क्षेत्रमा एउटा नयाँ क्रान्ति ल्याउनुपर्छ ।

कृषि, पर्यटन, जलस्रोत, वन, जडीबुटी र खनिजलाई आधार बनाई उद्यमशीलता विकास, तालिम, सहुलियतपूर्ण कर्जाको सहज वितरणको वातावरण तयार पारी युवालाई नेपालमा नै अवसर दिनुपर्छ । बिदेसिएका युवालाई नेपाल फर्काउने वातावरण तयार पारी विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्ने गुरुयोजना निर्माण गरिनुपर्छ ।
सरकारले युवाको विषयमा छुट्टै नीति बनाएर १० वर्षे योजनासमेत बनाउने भएपछि नेपाली युवाको खास समस्या के हो र समाधानका उपाय के हुन सक्छन् भन्ने कोणबाट बहस प्रारम्भ भयो । यो छलफल र बहसले नेपाली युवाको समस्यालाई पहिचान गरी समाधानको सूत्रको रूपमा पाँच आधार स्तम्भ स्थापित ग-यो । यही पाँच आधार स्तम्भलाई शिरमा राखेर नेपालमा युवा विकासको गति अगाडि बढाउने अठोटका साथ राष्ट्रिय युवा परिषद् स्थापना गरिएको हो ।
राष्ट्रिय युवा परिषद् गठन भएपछि शिक्षाको गुणस्तरीयता र व्यवसायिकता, उद्यमशीलता, रोजगारी र सीप विकास, नेतृत्व विकास सहभागिता र परिचालन, स्वास्थ्य र सामाजिक सुरक्षा तथा खेलकुद र मनोरञ्जनलाई आधार मानेर यसले कार्य प्रारम्भ ग¥यो । सुुरुका वर्षहरू स्वाभाविक रूपले पाइलटिङका रूपमा सोचिएका हुन्छन् । काम गर्दै जाँदा अनुभवले सिंगारिन्छ, के गर्न सकिन्छ के गर्न सकिँदैन ? के गर्दा युवा विकासको कामलाई छिटो गति दिन सकिन्छ ? आदि विषयसमेत ध्यान दिँदै नेपालमा अब युवा विकासको क्षेत्रमा गर्न सकिने र आवश्यक कामको निम्न सूची बनाउन सकिन्छ ।

१.नेपाली युवाले सीपसहितको शिक्षा पाएका छैनन् । पाएका भए पनि त्यो संख्या थोरै छ । जसले गर्दा युवामा अलमल, दोधारेपन, अस्पस्टताको अवस्था विकराल छ । सरकारी झन्झटिलो प्रक्रियाका कारण राज्यले प्रदान गर्ने भनिएका अनुदान, सहुलियतपूर्ण ऋण र अन्य अवसर चुम्न नसकेर युवा आजित छन् । यो अवस्थामा युवालाई देशप्रेमको भाव जागृत गराउने, सकारात्मक सोच विकास हुने परिस्थिति निर्माण गर्ने, श्रमप्रतिको सम्मान र अप्ठयारो परेका वेला सहयोग तथा सहजीकरण गर्ने निकाय छ भन्ने बोध गराई एउटा विश्वासिलो वातावरण तयार गर्न युवा परामर्श तथा मार्गदर्शन कार्यक्रममार्फत युवालाई ऊर्जाशील बनाउन जरुरी छ ।
२. युवामा बजारको मागबमोजिमको सीप आवश्यक हुन्छ । प्रत्येक युवालाई वित्तीय साक्षरता, उद्यमशीलता विकाससहितको छोटो अवधिको तालिम दिएर सीप र ऊर्जा भर्नुपर्छ । आधारभूत रूपमा आफूले गर्ने उद्यमको प्राविधिक ज्ञानसमेत उद्यमी युवासँग हुनैपर्छ । हरेक युवालाई सीप विकासको तालिम प्रदान गरी उनीहरूलाई अनिवार्य रूपमा व्यवसायमा संलग्न गराउने सरकारी योजना हुनुपर्छ । तालिमप्रदायक सरकारी, गैरसरकारी र सहकारी संस्थाको एकीकृृत संयन्त्र बनाई तालिमको कामलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गरिनुपर्छ ।
३.उद्यमीका जोखिमलाई न्यूनीकरण गर्न सरकारका तर्फबाट ऋण, अनुदान, सहयोग, सुरक्षा र भण्डारणको समेत प्रबन्ध गरिनुपर्छ । उत्पादनको बजार र उचित मूल्यको ग्यारेन्टी दिने काममा सहजीकरण गरिदिने निकाय खडा गरिनुपर्छ । सरकारद्वारा युवा उद्यमीका निमित्त जारी गरिएको सहुलीयतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम सहजीकरण निकाय र कार्यक्रम राखिनुपर्छ ।
४.युवाको परिचालन, विकासलाई तीनवटै सरकारको निगरानी र सशक्तीकरणको विषय बनाइनुपर्छ । तीनवटै सरकारका अंगले हेर्ने भूमिका किटान गरी प्रत्येक वडास्तरमा युवा क्लब बनाउने, प्रत्येक शिक्षण संस्थामा विद्यार्थी क्लब या स्काउट निर्माण र विस्तार गर्ने । स्कुल र कलेज पढ्ने विद्यार्थी र भौँतारिरहेका युवालार्ई उद्यमी यात्रामा डोहो¥याउन एक वडा–एक युवा क्लब–एक उद्यम र एक शिक्षण संस्था–एक विद्यार्थी क्लब–एक उद्यम योजना ल्याउनुपर्छ ।
५. वर्षौं लगाएर सरकारी संयन्त्रले गरेको कामभन्दा ४० दशमलव ३५ प्रतिशतको संख्यामा रहेका युवा र स्कुल पढ्दै गरेका विद्यार्थीले स्वयंसेवकीय अभियान गर्दा पनि धेरै गुणा बढी परिणाम दिन सकिन्छ । एनजिओ/आइएनजिओले वर्षौं लगाएर गरेको क्याम्पेनभन्दा धेरै प्रभावकारी हुने गरी युवा–विद्यार्थीलाई समाजका लागि युवा योगदान कार्यक्रममार्फत परिचालन गर्न सकिन्छ । वृक्षारोपण, सरसफाइ अभियान, स्वास्थ्य सचेतना, खेल सचेतना, जोखिममा उद्धार र सूचना प्रवाह गर्ने विविध काममा युवालाई परिचालन गर्न सकिन्छ । स्वयंसेवकीय काम गरेकालाई प्रमाणपत्र दिने र लोकसेवालगायत अवसरमा सो प्रमाणपत्रको मूल्य कायम गरिदिनुपर्छ । यो अभियान भव्य र आकर्षण भावका साथ अगाडि बढ्न सक्छ ।
६.युवालाई फक्रिन, फुल्न र क्षमताको विकास गर्न प्रतिस्पर्धाको कसीमा जाँचिने वातावरण पनि दिनुपर्छ । उत्कृष्ट हुनेलाई सम्मानित र पुरस्कृृत गर्ने संस्कृति बसाल्नुपर्छ । राज्यलाई चाहिएको विचार, श्रम, सीप र योग्यताको पहिचान गर्ने लक्ष्यसहित विविध विधामा तलदेखि प्रतिस्पर्धा गराउने कार्यक्रमको रूपमा युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
७.युवालाई तीन तहका सरकारको योजना निर्माणमा सहभागी बनाउने, संविधान र कानुनको आधारभूत ज्ञान दिलाउने, आफ्नो संस्कृतिप्रतिको मोह जगाउने, राष्ट्रप्रति बफादार बनाउने, विकास निर्माणको काममा सहभागी गराउने, नयाँ पुस्ता प्रस्तुतिका रूपमा प्रदर्शन गर्ने, नेतृत्व विकासको हब कार्यक्रमको रूपमा ‘मोक युथ पार्लियामेन्ट’ तिनै तहको सरकारले सञ्चालन गर्ने र यो युवा संसद्लाई ःत्इत् दिलाएर युवा दूत बनाई गाउँमा स्वयंसेवकको रूपमा परिचालन गर्ने नीति बनाउनुपर्छ ।
कृषि, पर्यटन, जलस्रोत र खनिजलाई आधार बनाई उद्यमशीलता विकास, तालिम, सहुलियतपूर्ण कर्जाको सहज वितरणको वातावरण तयार पारी युवालाई नेपालमा नै अवसर दिनुपर्छ । युवालाई विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्ने गुरुयोजना निर्माण गरिनुपर्छ ।
८.बाध्यताले होस् या रहर र अध्ययनको सिलसिलामा विदेश पलायन भएको जनशक्तिलाई स्वदेश फर्काउने र उनीहरूले कमाएको धन, सीप, अनुभव, ज्ञान र नेपाली मनलाई भरपूर उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्र्छ । लगानी र प्रक्रियामा सहज बनाइदिनुपर्छ । स्वदेश फर्कने मन–कमाएको अनुभव, ज्ञान, सीप र धन–सहज प्रक्रिया र लगानी–मातृभूमिको पहिचान भन्ने नारासाथ मातृभूमि फर्क नेपाली भन्ने अभियान सञ्चालन गरिनुपर्छ ।
९.नेपालमा भएको प्राविधिक जनशक्तिलाई नेपालभित्रै राख्ने वातावरण बनाउनैपर्छ । युवा वैज्ञानिक सम्मेलनको माध्यमबाट विज्ञान तथा प्रविधि क्षेत्रका युवालाई मोटिभेट गरी आफ्नै देशभित्र आकर्षित गर्ने र उनीहरूले गर्ने कामका क्षेत्रमा अनुकूल वातावरण तयार गरिदिनुपर्छ । अनुसन्धान कोष स्थापना गरी आवस्यकीय क्षेत्रमा अनुुसन्धानका लागि युवालाई सहज वातावरण बनाउनुपर्छ ।
१०. अन्तरदेशीय तथा आन्तरिक प्रदेशस्तरीय अनुभव आदान–प्रदान कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका सेमिनार र गोष्ठी, विचारको बहस, विश्वभरका राजनीतिक, सामाजिक, आर्थिक, प्राविधिक र कानुनी विषयमा बहस र मार्गदर्शन दिने प्रयासका कार्यक्रम सञ्चालन गरिनुपर्छ । पर्यटन प्रवद्र्धनमा युवाको अभियान सञ्चालन गरिनुपर्छ ।
११. युथ इनोभेसन सेन्टर योजना निर्माणमा युवा सहभागिता, अनुसन्धानमा युवा, सामाजिक अभियानमा युवा, युवाका लागि तालिम, परामर्श, सूचना, विज्ञान तथा प्रविधिमा युवा, यथार्थमा नयाँ सिर्जनामा युवाको बृहत्तर योजनासहित प्रत्येक प्रदेशमा कम्तीमा एक सय रोपनीभन्दामाथिको क्षेत्रमा स्थापना गरी प्रभावकारी ढंगले परिचालन गरिनुपर्छ ।
यसका अलावा खेल, मनोरञ्जन, सामाजिक सुरक्षा, स्वास्थ्य र शिक्षाका क्षेत्रमा भ्रष्टाचार नियन्त्रण, कार्यक्रमको प्रभावकारी अनुगमन, सामाजिक अडिटमा युवाको परिचालन धेरै महत्वपूर्ण छ । सरकारका तीनवटै तहले युवालाई प्राथमिकतामा राखेर योजना,कार्यक्रम र बजेट निर्माण गर्ने र कार्यान्वयनका लागि दिइने जिम्मेवारी सही भयो भने सुखी नेपाली समृद्ध नेपालको नारा युवाको परिचालन र सहभागिताबाट नै सार्थक सिद्ध हुनेछ ।
( लेखक : राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुन् )

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया