सोमबार, बैशाख ०७, २०८३

अन्तरिक्षमा नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट पठाइयो

न्युयोर्क । नेपालले पहिलोपटक आफ्नो स्याटेलाइट अन्तरिक्षमा पठाइएको छ । उक्त स्याटेलाइट भर्जिनियाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको हो ।
न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ ।
उक्त बायुयानभित्र रहेको कार्गो बिमानले करिब ७६०० पाउण्ड सामाग्री बोकेर अन्तरिक्षमा लगेको छ ।
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ़ेको हो।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ। ढकालले भने, ‘भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ।’

नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो। सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ। ‘भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ’, ढकालले थपे, ‘यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ।’

नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ। नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ।

नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो। विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको थियो । जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ।
ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ।