शुक्रबार, बैशाख १४, २०८१

तातोपानी नाका सञ्चालनमा ल्याउन काम धमाधम

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको तातोपानी नाका चारवर्षपछि पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माणको काम भइरहेको छ ।

चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र सडक कार्यालय चरिकोटले बाह्रबिसेदेखि बसेरीसम्म निर्माण गरिरहेको छ । तत्कालै सक्ने गरि निर्माणधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडक, लगायतको क्षेत्रको काम तिब्र गतिमा भइरहेको छ ।

सुख्खा बन्दरगाहा निर्माणको काम अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले बताएको नेपालका उच्चस्तरीय प्रतिनिधिले बताएका छन् । चिनियाँ पक्षले जेठ १७ गते नाका सञ्चालनको तयारी गरेको र त्यही अनुसार काम भइरहेको जानकारी आफूलाई गराएको नाका क्षेत्र भोटकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो ।

नाका सञ्चालन हुँदा व्यस्त रहने तातोपानी पछिल्लो समय सुनसान जस्तै थियो । होटल व्यवसाय समेत ठप्प थियो । गुजारा चलाउनेकै लागि स्थानीयले घर छाडेर हिड्नु परेको थियो । तर नाका सञ्चालनको तयारीसँगै स्थानीय पुनः व्यापार व्यवसाय सुरु गर्ने योजनामा छन् ।

यस्तै योजनामा हुनुहन्छ, बाह्रविसेका स्थानीय हिरा खड्का । तातोपानी नाका दीर्घकालिन रुपमा सञ्चालनमा आएपछि नेपाल, चीन व्यापारमा सजिलो हुने तथा चीनसँगको स्थल मार्ग नजिक हुने भएकाले यसबाट नेपालले फाइदा लिन सक्नेछ ।