बुधबार, बैशाख १९, २०८१

रेलमार्ग सञ्चालन गर्दा पर्ने जग्गाको मुआब्जा एकमुष्ठ पाउनुपर्ने माग

कपिलवस्तु । रेलमार्ग सञ्चालन गर्दा पर्ने जग्गाको मुआब्जा एकमुष्ठ पाउनुपर्ने माग गरिएको छ । विकासको नाममा बिचल्लीत हुने डर उत्पन्न भएको भन्दै कपिलवस्तुका नागरिकले समयमै जग्गाधनीलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

बुटवल लमही विद्युतीय रेलमार्गको वातावरणीय प्रभाव मुल्याङकन अध्ययन प्रतिवेदनमाथि गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिहरुले यस मुआब्जाको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

हिजो कपिलवस्तुको बाणगंगा नगरपालिका सिद्धार्थ क्याम्पसको प्राङगणमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा रेल्वे विभागको तर्फबाट वातावरणी प्रभाव अनुसन्धान गर्नुभएका कृष्ण खनाल, विनोद चन्द्र आचार्य, वातावरण विभागका लोकश सापकोट र वन विभागका समिर पुनले सरकारले जग्गाधनीलाई समयमै मुआब्जा दिनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

समयमै अधिग्रहण कार्य अघि बढेर सरकारले पर्याप्त बजेट उप्लब्ध गराए ५ बर्षभित्रै काम सम्पन्न गरिने अधिकारीहरुको भनाइ छ । रेलमार्ग निर्माणका लागि ७६ अर्ब ६७ करोड ९० लाख ६८ हजार रुपंैया लाग्ने बताईएको छ ।

दाङ, कपिलवस्तु र रुपन्देही भएर जाने १ सय १० किमी लामो रेलमार्ग, स्टेशन, सव स्टेशन निर्माणका क्रममा हुने अधिग्रहण तथा क्षति वापत् १२ अर्ब ५२ करोड ६ लाख ४१ हजार रकम लाग्ने वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख छ । ८ वटा स्टेशन मध्ये कपिलवस्तुमा शिवपुर, गोरुसिंगे र मोतिपुरमा स्टेशन रहनेछ ।