टोकियो । अन्तराष्ट्रिय जूनियर कोपा पुमा टोरेरस फुटबल खेल्नका लागि नेपाली जुनियर खेलाडीहरु जापान आईपुगेका छन् । उनिहरु मंगलबार बिहान जापान आईपुगेका हुन् ।
विगत १० वर्ष देखि हुँदै आएको यस प्रतियोगितामा नेपालले तीन पटक सहभागीता जनाईसकेको छ । यो १२ वर्ष मुनिका किशोर खेलाडीहरुको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो ।
यहि मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा टोरेरोस फुटवल प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु यस वर्ष पनि जापान आउने भएका हुन् । १२ जना खेलाडीसहित १ प्रशिक्षक , १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोली यहि मार्च २६ तारिख टोकियो आईपुगेका छन् । यस वर्ष पनि नेपाली जुनियर फुटबल खेलाडीहरुलाई जापानमा सहभागिता गराउने ब्यवस्था एनपिओ ( गैर नाफा मुलक संस्था) नेपाल युथ सकर प्रोजेक्ट नामक गैर सरकारी संस्थाले गरेको हो । सो संस्थाका अध्यक्ष तथा यस कार्यमा, निरन्तर लागि परिरहेका बसन्त गौचनका अनुसार नेपालबाट आमिन्त्रत टोलीको स्वागतमा यहि मार्च २७ तारिख बुधबार साँझ शिन ओकुवो स्थित टोकियोमा एक डिनरसहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शिजुओका केनको सुसोनो सिटी , शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने प्रतियोगितामा नेपाल लगायत , ब्राजिल , जर्मनी , दक्षिण कोरिया र जापानको जे . लिगका ४० टिमको सहभागिता रहने गौचनले जानकारी दिए । नेपालबाट भाग लिन आउने खेलाडीहरुमा सफल थापा ( कास्की ) , विनय तामाङ ( मकवानपुर ) , अलेक्स पौडेल ( काठमाडौं ) , विश्वास ओझा ( काठमाडौं ) , सरोज दर्लामी ( रुपन्देही ) , बिबिर थापा ( बागलुङ ) , बिशाल बि . क . ( स्याङ्जा ) , बिज्ञ गौचन । ( म्याग्दी ) , समिर गौतम ( अर्घाखाँची ) , आर्यन गुरुङ ( स्याङ्जा ) , सुबिन नेपाली ( कास्की ) र प्रकाश तामाङ ( गोरखा ) रहेका भने प्रशिक्षक राजेन्द्र तामाङ , म्यानेजरकारुपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ र गोल नेपाल डट कमका पत्रकार विक्रम थापा पनि टोलीमा सम्मिलित रहेका छन् ।

