शुक्रबार, बैशाख १४, २०८१

पर्वतमा बाँदर समाउन नयाँ प्रविधि विकास

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो । बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिनुभयो । स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताउनुभयो ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा रु रु १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ । पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

दुई दिन विद्युत् सेवा ठप्प 

विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि साविक धवलागिरि अञ्चलमा दुई दिन विद्युत् सेवा ठप्प पारिने भएको छ । भोलि चैत २ र ३ गते गरी दुई दिनसम्म पूर्णरूपमा विद्युत् लाइन काटेर नयाँ ट्रान्सफर्मर परिवर्तन गर्न थालिएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले भोलि बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी गराएको छ ।

नेपाल विद्युत् प्राधिकरण मोदीखोला जलविद्युत् केन्द्रको स्वीचयार्डमा हाल जडानमा रहेको १५ एमभिए क्षमताको ट्रान्सफर्मरको स्थानमा ३० एमभिए क्षमता भएको ट्रान्सफर राख्न लागिएकाले ३३ केभी सवस्टेशनबाट विद्युत्को प्रसारण पूर्णरूपमा बन्द गरेर काम गरिने पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो ।

चौधरीले पर्वत जिल्लासहित बागलुङ, म्याग्दी र मुस्ताङमा पनि विद्युत् सेवा बन्द हुने भएको बताउनुभयो । लगातार दुई दिन विद्युत् बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भए पनि ट्रान्सफर्मर परिवर्तनका लागि विद्युत् बन्द नगरी काम नहुने भएकाले बाध्यताका कारण विद्युत् बन्द गरेर काम गर्नुपर्ने भएको चौधरीले जानकारी दिनुभयो ।

विद्युत् लाइन कटौती भएको समयमा यस क्षेत्रका बासिन्दालाई पर्न जाने असरप्रति प्राधिकरणले क्षमायाचना गर्दै उक्त समयमा वैकल्पिक व्यवस्था अपनाउन पनि सुझाव दिएको छ । रासस