Nepali date


शनिबार, जेष्ठ ११, २०७६

भरतपुरले रंगशाला निर्माण गर्न वार्षिक १० करोड बिनियोजन गर्ने

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भएको बताएकी छन् । प्रमुख दाहालले मिलेको खण्डमा भरतपुर महानगरबाट रंगशालाको लागि वार्षिक १० करोड बिनियोजन गर्न आफू तयार भएको समेत बताइन् ।
भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताइन् ।

कार्यक्रममा महानगर प्रमुख दाहालले भनिन्, ‘यो एक महिनामा धमाधम निर्माणका काम अघि बढिरहेको छ, कपाउण्डिङको काम भइरहेको छ । बस्ने टहराहरु बनिरहेका छन्, मास्टर प्लानको योजना बनिरहेको छ ।
प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको छ ।

कार्यक्रममा महानगर प्रमुख दाहालले चितवनको गौरवको आयोजना भएको हुनाले यसमा अझ चितवनवासी लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब रंगशाला सुरु गरिसकियो, यो जसरी पनि बनाउनु नै पर्छ, रंगशाला अलपत्र पार्ने छुट कसैलाई छैन, नकारात्मक टिप्पणी नगरौँ ।
कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गरेकी थिइन् । कार्यक्रममा उनले भनिन्, ‘स्थानीय सरकार भरतपुर महानगर हिजो जग्गा उपलव्ध गराउनदेखि सम्झौता हुँदै आज निर्माणको काम दिनरात नभनी लागिरहेको छ, यसमा सबैको जोडबल गर्न जरुरी छ ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूहरुलाई इमानले यहाँसम्म ल्याएको बताए । उनले भने, ‘अबको ५ महिनाभित्र गुरुयोजना तयार हुन्छ, हामीले विश्वको रंगशालाको अध्ययन गरिरहेका छौँ ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङलगायतले रंगशालाको लागि प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले रंगशाला निर्माणमा रकम संकलन गर्ने उपायहरु सुझाएका थिए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया