Nepali date


शनिबार, जेष्ठ ११, २०७६

घरेलु तथा यौन हिंसा : विदेशी लक्षित कानूनी परामर्श सेवा बिषयक सेमिनार

टोकियो । जापानमा घरेलु तथा यौन हिंसा पनि एउटा टाउको दुखाईको बिषय बन्दै आएको छ भन्दा अचम्म लाग्न सक्छ । तर नियम कानुन र अनुशासनको असाध्यै पालना गर्ने जापानमा पनि नपत्याउँदा यस्ता घटनाहरु हुने गरेको सञ्चारमाध्यमहरुमा दिनहुँ सुन्ने गरिन्छ ।

केहि हप्ता अगाडि जापानको इवाराकी केनमा अधवैंशै युवाले आफ्नी ३ वर्षिय नाबालिका छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीको गिरफ्तारीमा परेको घटना सजहै पत्याउन नसकिने खालको थियो ।
जापानीहरु मात्र हैन, विदेशीहरुमाझ झन घरेलु हिंसाका घटनाहरु बढ्दो छ । तथापि धेरै घटनाहरु भाषा, पहुँच र अनेकन विवशताका कारण बाहिर आउन सक्दैनन् । हालैमात्र एक नेपाली महिला आफ्नै श्रीमानको हिंसाका कारण नेपाल फर्कनुपरेको र सञ्चारमाध्यममा हारगुहार गरेको घटना सार्बजनिक भएको थियो । श्रीमानको दमनबाट पीडित श्रीमतीहरु, लिभिङ टुगेदरमा बसेका, रिलेशनमा भएका जोडीबीच खटपट सुरु हुनासाथ कुनै न कुनै रुपमा हिंसाको रुप लिनेको गरेको र कुनै एक पक्ष पीडित हुने गरेको घटनाहरुबाट पुष्टि हुने गरेको देखिन्छ । निजी मामलाका कारण धेरैजसो यस्ता घटनाहरुमा पीडित पक्ष दबिएरै सहनुपरेको अवस्था छ । खासगरी डिपेन्डेन्टमा बसेका महिलाहरुलाई श्रीमानबाट दबिनुपरेको घटनाहरु बढि सुन्नमा आउने गर्दछन् । यस्तो घटनामा बाँकी पारिवारिक जीवन थप नबिग्रोस् भन्ने उद्देश्यले पीडित पक्षले सहेरै बस्ने गरेको पाईन्छ ।
विगत १२ वर्षदेखि ३ बालबच्चासहित जापानको यामानासीमा बस्दै आएका एक नेपाली जोडिको अहिले अवस्था त्यस्तै विकराल छ । जाँडरक्सी खाएर श्रीमानको कुटपिट एवं अमानवीय ब्यवहारका कारण श्रीमती आजित छिन् । बिगत ६ महिनादेखि अलग अलग बस्दै आएका उनीहरु श्रीमानले साथ नदिंदा भिसा धरापमा परेकोले उच्च तनावमा रहेको उनी बताउँछिन् ।
बिशेष गरी विदेशीहरु लक्षित यस्तै घरेलु तथा यौनहिंसा हिंसा लगायतका निःशुल्क कानुनी परामर्श लिनका लागि जापान कानुनी सहायता केन्द्र (होउ तेरासु) ले बिभिन्न भाषामा सेवा उपलब्ध गराउँदै आएको छ ।
यसै बिषयमा केन्द्रीत रहेर मंगलवार साँझ टोकियोमा एक सेमिनार सम्पन्न भएको छ । सेमिनारमा कानुनका ज्ञाताहरुले परामर्श केन्द्रले दिन सक्ने सेवाका बारेमा बिस्तृतमा जानकारी गराएका थिए ।
जापान बार एसोशियशन (निहोन बेन्गोसी खाइ) मा आबध्द तथा अन्य सम्बन्धित बिषयका ज्ञाताहरुले उक्त सेवा लिन अपिल गर्दै भाषाका कारण समस्या पालेर नबस्न सुझाव दिएका थिए ।
शिन्ज्यकु वार्डको बहुभाषिक साँस्कृतिक केन्द्र (शिन्ज्युकु ताबुन्का क्योसेइ प्लाजा) को आयोजनामा भएको सो कार्यक्रममा ज्ञाताहरुले नजिकको स्थानीय वार्ड कार्यालय वा शाखा कार्यालयहरुमा कानुनी परामर्श केन्द्र रहेको र कुनै पनि समस्या परेमा सम्पर्क गर्न सुझाएका छन् । त्यस्ता केन्द्रमा आफ्नै भाषामा पनि आफ्नो समस्या बताउन सकिने र अनुवादक मार्फत सम्बन्धित अधिकारी समक्ष पुर्‍याउन सकिने ब्यवस्था रहेको जानकारी गराईयो । उक्त सेवा जापान सरकारको कानुन तथा न्याय मन्त्रालयको स्किम अन्तर्गत उपलब्ध गराईएको बताईएको छ ।
अप्रिलदेखि नयाँ भिसा प्रणलीमार्फत विदेशी कामदार थपिने सरकारी योजना अनुसार जापानमा विदेशीहरुको संख्या अझ बढ्ने र घरपरिवार तथा कार्यस्थलमा यस्ता समस्याहरु झन थपिदैं जान सक्नेतर्फ संकेत गर्दै विज्ञहरुले पूर्व सचेतना अपनाउन र जापानमा रहेका सबै मुलुकका विदेशी नागरिकहरुमा सूचना प्रवाह गरी सहजीकरण गर्न समाजका जिम्मेवार अगुवाहरुको भूमिका अपेक्षित रहेको बताए ।
जापान कानुनी सहायता केन्द्र (जापान लिगल सपोर्ट सेन्टर-होउ तेरासु) को मुख्य सम्पर्क नम्बर ०५७०-०७८३७७ रहेको छ । सार्बजनिक बिदाका दिन बाहेक हरेक दिन सोमबार देखि शुक्रबारसम्म बिहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म उक्त केन्द्रमा सम्पर्क गरी घरेलु तथा यौन हिंसाजन्य घटनाका बारेमा निःशुल्क कानुनी परामर्श लिन सकिने बताईएको छ । गम्भीर प्रकृतिको घटना भएमा सम्बन्धित बिषयका वकिलहरु समक्ष सिफारिश गरिने सेवा पनि केन्द्रको रहेको जनाईएको छ । त्यस्तो अवस्थामा भने सशुल्क पनि हुन सक्ने सेमिनारमा बताईएको थियो ।
यो सेवा उपलब्ध फोन नंवरमा सिधै फोन सम्पर्क गरेर, अनुवादक मार्फत र केन्द्रका आधिकारिक कर्मचारी समक्ष गरी तीन प्रकारले लिन सकिने बताईएको छ ।
केन्द्रले हरेक वर्ष विदेशीहरु लक्षित यसप्रकारको जानकारीमुलक कार्यक्रमहरु गर्दै आएको भएता पनि विदेशीहरुको सहभागिता अत्यन्त न्यून रहने गरेको बताईएको छ । सेमिनारमा नेपाली, म्यान्मार, चिनियाँ, भियतनाम, कोरियन लगायतका मुलुकहरुका प्रतिनिधित्वमुलक विदेशीहरुको सहभागिता रहेको थियो । समाचार सौजन्य समुद्रपारि

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया