शनिबार, असार ०६, २०८३

राहत शिक्षक माथि वानेश्वरमा अश्रु ग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । आन्दोलनरत राहत शिक्षकलाई प्रहरीले वानेश्वरमा अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनरत राहत शिक्षकलाई सुरुमा पानीको फोहोरले तितरबितर पार्न खोजेपनि निषेधित क्षेत्र तोडेर जान खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । अश्रुग्यास र पानीको फोहोराले केही शिक्षक घाइते भएका छन्। घाइते मध्ये एकजना बेहोस भएका छन्।

सोमबार माइतीघरबाट निकालिएको शिक्षकको जुलुस बानेश्वर पुगेको थियो । त्यहाँ प्रहरीले रोक्ने र शिक्षकहरुले तोडेर जाने क्रममा धकेलाधकेल समेत भएको थियो ।
राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै उनीहरु आक्रोशित छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा जारी विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।