Nepali date


शनिबार, जेष्ठ ११, २०७६

घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

घोडाघोडी । विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको छ ।

नेपालको प्रमुख गन्तव्यका रुपमा उक्त ताल रहे पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको लम्कीचुहा नगरपालिका–४ कौवापुरका कमल ढकालले बताउनुभयो । तालमा जमेका लेउ र फोहरको सरसफाइ नहुँदा तालनै दुर्घन्धित भएको छ । त्यस्तै कञ्चनपुरबाट घोडाघोडी ताल अवलोकन गर्न पुगेका सन्तोष घिमिरेले पनि तालमा खासै परिवर्तन नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी स्कूल पढ्दा घोडाघोडी ताल घुम्न आउँदा पनि यस्तै लेउ र सुकेको कमलको फूलले ढाकेको थियो र अहिले पनि यस्तै फोहर नै छ ।”

यस्तै पोखराबाट भ्रमणका क्रममा घोडाघोडी तालको अवलोकन गर्न आएका महेश गुरुङले पनि पर्यटकलाई लोभ्याउने कुनै नयाँ कुरा नरहेको बताउनुभयो । पौडेलले गोही तथा यहाँ रहेका अन्य वनस्पतिलाई असर नपर्ने गरी सरसफाइ गरी आएका पर्यटकलाई भुल्ने वातावरण मिलाउन पर्ने सुझाव दिनुभयो ।

घोडाघोडी ताल संरक्षक दीपक शाहले ताल क्षेत्रमा आएर धेरै समयसम्म अवलोकन गर्नको लागि खासै केही नभएका कारणले पर्यटक कम आउने गरेको बताउनुभयो । लेउ र झ्याउका कारण ताल फोहर देखिने हुँदा यसको सरसफाइ गरी ताल क्षेत्रलाई व्यवस्थित गर्न सके मात्रपर्यटन भित्र्याउन सकिने उहाँले बतानुभयो ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसादचौधरीले नगर क्षेत्रमा पर्यटक प्रवद्र्धधनको लागि विस्तृत गुरुयोजना निर्माण भइरहेको जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि एकद्वार प्रणालीको आवश्यकता रहेको उहाँले बतानुभयो । गुरुयोजना निर्माणसँगै एकद्वार प्रणाली लागू गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

घोडाघोडीलाई विश्वजलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको उचित वासस्थानका रुपमा लिइने गरिन्छ । हालसम्मको अध्ययनअनुसार यहाँ ४५० प्रजातिका वनस्पति, सतिसाल, साज, खयरको घना जङ्गल रहेको छ । ताल संरक्षणका लागि विभिन्न सङ्घसंस्थाले वर्षेनि लाखौँ रुपैयाँ खर्चने गरेको भए पनि त्यसको उपयोगिता हुन नसकेको स्थानीयवासीको आरोप छ । रासस

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया