बुधबार, बैशाख ०२, २०८३

बौद्धमा ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न,गुरूयाेजनालाई साकार रूप दिने सरकारी प्रतिबद्धता 

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले विविध कार्यक्रमको आयोजना गरी बौद्धमा राष्ट्रिय ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न गरेकाे छ ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध टाउन प्लानिङ स्थित फुटबल मैदानमा हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरूकाे नयाँ वर्ष  ता ल्हो (घोडा वर्ग) र भगवान बुद्धको महान तिथि छ्याेठुल धुईछेन(ऋषि प्रतिहार्य) दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष राजकुमार लामाकाे अध्यक्षता रहेकाे थियाे भने परम पूज्य लोसाङ नाम्ग्याल रिन्पोछे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

ल्हाेछारकाे विधिअनुसारकाे कार्यक्रममा बिहानैदेखि साङ सेरगेम, धर्मपाल तथा स्थानीय देवीदेउतालाई पूजा तथा सम्पूर्ण जगत प्राणीको कल्याण अर्पण, सम्पूर्ण विघ्नवाधा, रोगव्याधि,ग्रह शान्ति, अवरोध निवारण अर्थात चार सय घ्याप्सी पूजा गरिएको थियाे ।

कार्यक्रममा शेर्पा तथा तामाङ समुदायको मौलिक कला, संस्कृति, भाषा र परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यसैगरी, कार्यक्रममा लामाहरूकाे छाम नृत्यका साथै शेर्पा तथा तामाङ समुदायको परम्परागत भेषभूषा, नृत्य, गीत तथा धार्मिक सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।

त्यतिमात्र हाेइन, समितिले सार्वजनिक गरेकाे गूरूयाेजनाले समेत उपस्थित सम्पूर्णकाे ध्यान केन्द्रीत गरेकाे देखिन्थयाे। गुरूयाेजनामा चुच्चेपाटी देखि बौद्ध पिपलबाेट सम्म अन्डरग्राउन सडक, हायात ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङ देखि बौद्ध महाचैत्य वरिपरिका घरहरू पुरानै कलात्मक शैलीमा निर्माण गरिने परिकल्पना देखिन्छ ।

उक्त गुरूयाेजनाकाे परिकल्पना अध्यक्ष लामाले गरेकाे भन्दै समितिका कार्यकारी निर्देशक लामाले गुरूयाेजना सफल भएमा साच्चिकै बौद्ध स्वर्ग बन्ने बताए । संस्कृति, पर्यटन तथा उड्डयन  मन्त्रालय र अन्य मन्त्रालयमा पनि गुरूयाेजना सम्बन्धि काम अघि बढाईएकाे र मन्त्रालयका सचिवले याेजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको वचन दिईसकेकाे उनी बताउँछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निराैलाले ल्हाेछार पर्व नयाँ वर्षकाे उल्लासका रूपमा मात्रै नभई समितिले सार्वजनिक गरेकाे गुरूयाेजनालाई पनि साकार रूप दिन प्रतिबद्धता दिनुपर्ने बताए । विश्व सम्पदा सुचिमा सूचिकृत बौद्धनाथ क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि मात्रै नभई नेपाललाई शान्तिका लागि आध्यात्मिकता र साँस्कृतिक पर्यटनको गन्तव्यकाे रूपमा चिनाउने एक महत्त्वपूर्ण केन्द्र भएको उनी बताउँछन् ।

मन्त्रालय पर्यटनलाई आर्थिक समृद्धि,राेजगारी सृजना र साँस्कृतिक सम्पदालाई जाेडेर अघि बढाउन प्रतिबद्ध  रहेकाे समेत सचिव निराैलाले बताए । साथै, धार्मिक तथा साँस्कृतिक पर्यटनको विकास मार्फत स्थानीय सशक्तीकरण तथा परम्पराकाे संरक्षण र दिगाे पर्यटन प्रबर्द्धनमा सरकार सदैव सहयाेगी रहने उनले विश्वास व्यक्त गरे ।

यसैगरी, समितिका अध्यक्ष लामाले ल्हाेछार कार्यक्रम नाचगान गर्नका लागि मात्रै नभई ल्हाेछार विधिपुर्वक मनाउनुपर्छ भन्ने धारणा सम्पूर्णलाई बुझाउनका लागि यस्ताखाले कार्यक्रम आयाेजना गरिएको बताए ।

यस क्षेत्रमा बसाेबास गर्ने बौद्ध धर्मावलम्बी मात्रै नभएर हिन्दु धर्म मान्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई धार्मिक सहिष्णुता कायम राख्नका लागि कार्यक्रमले मद्दत पुग्ने अध्यक्ष लामाकाे धारणा थियाे । साथै, आम खस ब्राह्मण समुदायका दाजुभाइ दिदीबहिनीहरूले पनि बौद्ध परम्परा र हाम्रो राष्ट्रिय पर्व ल्हाेछारलाई आत्मासाथ गर्न जरुरी छ भन्ने विश्वास दिलाउनका लागि समिति सदैव प्रयासरहरत रहने अध्यक्ष लामाले बताए ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उल्लेख्य  सहभागिता रहेको थियो। कलाकारहरूको प्रस्तुति मार्फत स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्नुका साथै यस क्षेत्रकाे आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास रहेको छ। यस्ता साँस्कृतिक कार्यक्रमले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै कार्यक्रममा,धर्म गुरूहरू, बागमती प्रदेश सदस्य तथा प्रदेश मामिला समितिका सभापतिमा छिरिङ दाेर्जे लामा, वडा अध्यक्ष भुवन लामा,लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।