शुक्रबार, जेठ ०१, २०८३

दमकमा ‘फूड फेस्टिभल २०२६’तथा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज’ सुरु

झापा । नेपाली मौलिक खानाको स्वाद र नेपाली सेतो कोट र सेतो टोपीको गरिमालाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ झापाको दमकमा फूड फेस्टिभल २०२६ तथा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज शुक्रबार (आज)देखि सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा दुई दिन चल्ने उक्त कार्यक्रमले नेपाली पाककलालाई विश्व बजारमा ब्रान्डिङ गर्ने नयाँ ढोका खोलेको छ । दुई दिने उक्त कार्यक्रम आजदेखि दमकस्थित युनिभर्सल कलेजमा सुरु भएको हो । कार्यक्रममार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतासँग जोड्ने लक्ष्य राखिएको छ।

इन्टरनेशनल नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्। सेफको पेशालाई स्वास्थ्यसँग जोड्दै अधिकारीले भने, ‘डाक्टरले बिरामी भएपछि उपचार गर्छन्, तर सेफले मानिसलाई बिरामी हुनबाटै जोगाउने स्वस्थ खाना बनाउँछन् । त्यसैले सेफहरू स्वास्थ्यका वास्तविक डाक्टर हुन् ।’

आयोजकका अनुसार प्रतियोगितामा नेपालको सातै प्रदेशका मौलिक तथा रैथाने परिकारको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। विभिन्न भूगोलका परम्परागत तथा लोपोन्मुख खानालाई एउटै मञ्चमार्फत प्रस्तुत गरिएको छ।

कार्यक्रमले आधुनिक पाककलाको प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै युवा पुस्ताका सेफहरूलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य पनि राखेको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत खुला कुकिङ प्रतियोगिता, विभिन्न फुड कन्टेस्ट तथा ५० भन्दा बढी स्टलसहितको विशाल फुड फेस्टिभल आयोजना गरिएको छ, जहाँ स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ, द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया