बिहिबार, बैशाख २४, २०८३

‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६’ झापामा हुने,प्रथमलाई एक लाख पुरस्कार

काठमाडौं । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६’ झापामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी र नेपाल शेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापास्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुने बिहीबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे । उनले सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए ।

उनका अनुसार प्रतियोगितामा खुला पाककला प्रतिस्पर्धा, विभिन्न खाद्य विधामा प्रतिस्पर्धा तथा खाद्य महोत्सवसमेत आयोजना गरिनेछ । महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्मका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफ निर्णायकका रूपमा सहभागी हुने जनाइएको छ । आयोजकका अनुसार उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्रदान गर्नेछ ।नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलियाले शेफहरूलाई विश्वव्यापी जनशक्तिका रूपमा चित्रित गर्दै उनीहरूले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताएका छन ।

प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ ।

प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कारस्वरूप एक लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया