शनिबार, असार ०६, २०८३

रामेछापको हिलेपानीमा बोरिङ प्रविधिवाट खानेपानी आएपछि गाउँमा खुसीयाली

मन्थली। रामेछाप नगरपालिका–७ हिलेपानीमा बासिन्दा बोरिङ ९ड्रील० प्रविधिबाट खानेपानी आएपछि खुसी भएका छन् ।
१५ सय मिटर उचाईमा रहेको रामेछापको हिलेपानी काली कुवामा बोरिङ प्रविधि मार्फत खानेपानी आएपछि गाउँभर खुसीयाली छाएको हो ।

हिलेपानीमा पुजाआजा सहित बोरिङ प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात भइसकेको छ । काम गर्दै जाँदा ४५ मिटरको गहिराइमै पानीको स्रोत भेटिएको र अझ गहिराईमा जाँदा पानीको मात्रा पनि बढ्दै गएको रामेछाप नगरपालिका–७ का वडा अध्यक्ष समिर कार्कीले बताउनु भयो ।
हिलेपानीमा यो प्रविधि मार्फत पानी परीक्षण पूर्ण रुपमा सफल भए खानेपानीको समस्या भोग्दै आएका वडा नम्बर ७ सुकाजोरका ५ सय घरधुरी लाभान्वित हुनेछन् ।

वडा अध्यक्ष कार्कीका अनुसार हिलेपानीमा बोरिङ प्रविधि मार्फत दिगो रुपमा पानी निस्कन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । खानेपानीको निकै समस्या भोग्दै आएको हिलेपानी आसपासका क्षेत्रमा यो प्रविधि सफल भए अन्य क्षेत्रमा पनि बोरिङ प्राविधि प्रयोग हुनेछ ।

यस अघि रामेछाप नगरपालिका–६ र ७ को सीमाना भालुखोपमा पनि यो प्रविधि सफल भइसकेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिकाका अधिकाशं क्षेत्र सुख्खाग्रस्त रहेकाले तामाकोसी नदी र अन्य खोलाबाट लिफ्ट मार्फत खानेपानी व्यवस्था गर्दै र गरिरहेको अवस्थामा बोरिङ प्रविधि सस्तो र छिटो हुने भएकोले यस प्रविधि अपनाईएको जनाएको छ ।