वीरगञ्ज । राष्ट्रपति विद्यादेवि भण्डारीले जानकी र गार्गी जस्ता विदुषीको जन्मभूमिमा छोरी अपहेलित हुनु दुःखद भएको बताएकी छन् । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले छोरीको शिक्षा र महिला सशक्तिकरणमा योगदान पुर्याउने उनको विश्वास छ ।
राष्ट्रपति भण्डारीले वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्धती बचत खाताको शुभारम्भ गरिन् । उनले मुख्यमन्त्रीको अभियानको प्रशंसा गर्दै कानुनी र संस्थागत कार्यक्रमिक संरचना विकास गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न तदारुकताका साथ लाग्न सल्लाह दिइन् ।
‘दाइजोको नामामा महिला प्रताडित हुने अवस्था आउनु आजको आधुनिक युग सुहाउँदो विषय होइन, छोरीका लागि लगानीलाई अनावश्यक आर्थिक भारको रुपमा छोरी पढाएर खर्च गर्नु भन्दा बाल विवाह वा अनमेल विवाह गरेर पठाउने सोच चिन्तन र व्यवहार गलत हो’ उनले भनिन्, ‘यसले बालिका र महिला मात्र होइन । सिंगो परिवार र समाजलाई नै नकारात्मक असर पारेको छ ।
‘जानकी र गार्गी जस्ता विदुषी जन्मेको भूमिमा छोरी अपहेलित हुने अवस्था आउनु भनेको हामीले सभ्य समाजको इतिहास बिर्सनु हो । छोरीको शिक्षाका लागि राष्ट्रिय, प्रदेश र स्थानीय तहमा नै बजेट वृद्धि गरी निरक्षरता उन्मुलन गर्दै गुणस्तरीय, रोजगारमुलक र व्यवसायिक शिक्षा प्रदान गर्नुपर्छ ।
राष्ट्रपति भण्डारीले परम्परा र रितिथितिको नाममा छोरीमाथि हुने विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन् । ‘आमा बुवाको स्नेह र ममता छोरा छोरीमा बराबर हुन्छ, यो प्राकृतिक र मानवीय सच्चाई हो’ उनले भनिन्, ‘तर रितिथिति परम्पराको नाममा छोरीबुहारीमाथि हुने भेदभावले हाम्रो ममता र मानवीय संवेदनलाई समेत कठोर बनाउनु असहृय पीडाको विषय बनी रहेको छ ।
महिला सुरक्षा सुदृढ तुल्याउँदै सुरक्षित जीवन जिउन पाउने हक प्रदान गर्नुपर्ने उनले बताइन् ‘बेटी बचाऊ, बेटी बचाऊ’ अनुशरण योग्य बनोस्
प्रदेश २ सरकारले बेटी पढाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा/मुद्धती बचत खाताको कार्यक्रम शुरु गरेको छ ।
पहिलो चरणमा यो कार्यक्रम प्रदेश अन्तर्गत रहेका ८ जिल्लाका एक/एक पालिकामा शुरु गरिएको छ । यसलाई विस्तार गर्दै लैजाने प्रदेश सरकारको प्रतिवद्धता छ ।
छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेश सरकारले बैंकमा निश्चित रकम जम्मा गरिदिनेछ । त्यो रकम २० वर्ष उमेर पूरा भएपछि झिक्न मिल्छ । त्यस बखत खातामा १ लाख २५ हजार हुनेछ ।
राष्ट्रपति भण्डारीले प्रदेश सरकारले सुरु गरेको कार्यक्रम बाँकी प्रदेशका लागि पनि अनुकरणीय बनोस् र राष्ट्रिय कार्यक्रमको रुपमा आओस भन्ने कामना गरेकी छन् । ‘हाम्रो आवश्यकता र विभिन्न देशको अनुभवलाई आत्मसात गर्दै प्रदेश सरकारले यो कार्यक्रम ल्याएको महशुस गरेको छु’ उनले भनेकी छन् ।
यसले छोरीलाई सम्मान गर्ने र छोरीको महत्व बुझ्ने सोचको विकास हुने उनको विश्वास छ ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘आजका छोरी भोलि देशका जिम्मेवार नागरिक हुन्, एउटा असल छोरी शिक्षित भए, परिवार शिक्षित बनाउन ठूलो मद्दत पुग्छ । हाम्रा छोरी बुहारी पनि जति असल र शिक्षित हुन्छन्, त्यति नै छिटो राष्ट्र समृद्ध बन्न सक्छ ।
प्रदेश २ को समृद्धिका लागि कृषि उद्योग र औद्योगिकीकरणमा जोड दिन राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई दासको रुपमा हेर्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान ल्याएको बताए ।

