सोमबार, बैशाख ०७, २०८३

इतिहासकै सबैभन्दा धेरै असिना : विपी राजमार्ग नै अवरुद्ध

सिन्धुली । शनिबार दिउँसो इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले विपी राजमार्ग नै अवरुद्ध भएको छ । सिन्धुलीको सिन्धुलीगढी, खनियाखर्क, चपौली, मझुवा, मतनबास तथा सुनकोसीगढतिर क्षेत्रमा पानीसँगै परेको असिनाले वीपी राजमार्ग टपक्कै छोपेको थियो ।

पानीसँगै आएको असिनाले वीपी राजमार्गलाई छोप्दा वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्ड र मध्यपहाडी लोकमार्ग अन्तरगतको खुर्कोट–फिक्कल खण्डसमेत अवरुद्ध भयो । असिनाको कारण सडक क्षेत्रमा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। त्यस क्षेत्रमा एक ५ घण्टा यातायातका साधन अवरुद्ध भएका थिए । असिनाले स्थानीयको जनजीवन प्रभावित भएको छ ।

असिनाको थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिराखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असही रामेश्वर पाण्डेले जानकारी दिए ।

अचानक परेको असिना पानीका कारण दुबै राजमार्गमा सवार झण्डै दुई हजारबढी यातायातका साधान बाटोमै रोकिएका छन्। त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयले जनाएका छन्। झण्डै दुई दशक पछि पहिलो पटक यस्तो धेरैमात्रमा असिना पानी परेको स्थानीय तथा कांग्रेसका नेता घनस्याम पहाडीले जानकारी दिए ।

स्थानीय जानकारका अनुसार २०३४ सालमा मात्र यति धेरै असिना परेको थियो। असिना पानिले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानिले अवरुद्ध वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग खुलाउने प्रयत्न गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जनाएका छन् ।@janaboli