काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।
नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पुर्याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
टेलिकमलाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको छ, टेलिकम ‘नम्बर वान’ थियो छ, हुनुपर्छ र चुनौतीविहीन नम्बर वान हुनुपर्छ, एउटा केही विषय आउनासाथ तर्सिने होइन काम द्रुत गतिमा अघि बढाउने हो,इमान्दार बनौँ,काम गरौँ, तर्सिनुपर्दैन”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।
उहाँले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इङ्गित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राख्नुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, “फोरजी वर्ष दिन अल्झिएको छ, संसदीय समितिमा जवाफ दिँदै हैरान भएको छ । कि त औचित्य छैन भन्नुप¥यो, होइन भने सबल बनाउन सबै लाग्नुपर्छ । टेलिकमको हितमा कोहीसँग पनि घुँडा टेकिन्नँ, गल्ती नगरेसम्म डराइन्नँ ।
फोरजी, अप्टिकल फाइबरलगायतका महत्वपूर्ण आयोजना अघि बढेसँगै टेलिकम सुध्रिएको सङ्केत देखिएको भन्दै उहाँले निजी क्षेत्र नाफा कमाउने क्षेत्रमा मात्रै पुग्ने भएकाले टेलिकम त्योभन्दा फरक गरीब जनताको क्षेत्रमा जाने भएकाले उसँगको प्रतिस्पर्धामा अल्झन नहुने उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले फोरजी सेवालाई एक वर्षभित्रै मुलुकभर विस्तार गरिने बताउनुभयो । “चुनौतीकै बीच १२ महीनामा फोरजी सक्नुपर्छ, अब समय तालिकामा काम गर्ने हो । सरकारले त्यतिकै आर्थिक समृद्धिको कुरा गरेको छैन । समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ, उहाँले भन्नुभयो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा अब छुट्टै पूर्वाधार कम्पनी स्थापना गरिने भएको छ । टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी खडा गरिने सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

