हेटौँडा । प्रदेश ३ सरकारले सार्वजनिक,निजी र साझेदारी कार्यक्रमअन्तर्गत् सञ्चालन गर्ने विभिन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ ।
शुक्रबार हेटौंडामा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक नीति तथा कार्यक्रममा गरिएको सम्बोधन अनुसार सार्वजनिक, निजी र साझेदारी कार्यक्रमका आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रसँग सम्झौता गरिएको छ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएको सम्झौता पत्रमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका छन्। सम्झौता भएसँगै ३ नम्बर प्रदेशमा सार्वजनिक, निजी र साझेदारी कार्यक्रमलाई अगाडि बढाउनका लागि निश्चित ऐन र कानुन बनाएर अगाडि बढिने बताइएको छ।
नेतृत्वको सरकार रहँदासम्म निजीक्षेत्रको सवैभन्दा ठूलो संस्था नेपाल उद्योग बाणिज्य महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रसँग रहेको पुँजीलाई प्रदेश सरकारसँग मिलेर उत्पादनशील क्षेत्रमा लगानी गर्न समेत सुझाए। उनले प्रदेश सरकार निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सदैव तयार रहेको बताउँदै ढुक्क भएर प्रदेश सरकारसँग मिलेर लगानी गर्न समेत आव्हान गरे।
नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले ३ नम्बर प्रदेश सरकारसँग मिलेर आफूहरु काम गर्न तयार रहेको बताइन्। उनले उत्पादन विना देश सक्षम नहुने बताउँदै निजी क्षेत्र प्रदेश सरकारसँग मिलेर उत्पादनशील क्षेत्रमा लगानी गर्न तयार रहेको बताए। ‘उत्पानमूलक क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार रहेको छ। हामी कृषि र पर्यटनमा लगानी गर्न तयार छौं। त्यसमा हामीलाई प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर सहयोग गर्नुपर्यो’, उनले भनिन्।
३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ढुक्क भएर प्रदेश सरकारसँग समन्वय गरेर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। उनले निजी क्षेत्रले विशेष गरी कृषिक्षेत्रमा लगानी गर्नुपर्ने समेत दोहोर्याए।

