सोमबार, बैशाख ०७, २०८३

रौतहटमा नयाँ एक चिनी मिलले उखुको अग्रिम भुक्तानी दिने,किसान अचम्मित

रौतहट । भर्खरै सञ्चालनमा आएको एक चिनी मिलले तोकिएको समयभन्दा अगाडि नै उखु किसानलाई भुक्तानी दिने भएको छ ।

रौतहटको कटहरिया ९ डुमरिमा सञ्चालित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीले किसानसँग उखु किनेको दुई सातामा भुक्तानीको प्रक्रिया सुरु गरेको हो ।

गत माघ ४ गतेदेखि माघ १४ गतेसम्म किनेको उखुको भुक्तानी उसले माघ २० गतेदेखि दिने भनी सूचना नै जारी गरेको छ । उखु उत्पादक महासङ्घ र चिनी उत्पादक सङ्घबीच उद्योगले किसानसित खरिद गरेको उखुको मूल्य ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भएको थियो ।

उद्योगका सञ्चालक ओमप्रकाश जयसवालले निर्धारित समय अगावै उखुको भुक्तानी किसानलाई दिन कुनै आपत्ति नभएको बताउनु भएको हो । माघ १४ गते किनेको उखुको मूल्य माघ २० गते नै भुक्तानी गर्ने भनी उद्योगले किसानलाई बोलाएको छ ।

देशभरका चिनी उद्योगले समयमै भुक्तानी नदिइरहेको बेला उद्योलगले भने किसानलाई नागरिकताको फोटोकपीसहति बैंक खाता नम्बर लिएर उखुको पैसा लिन बोलाएको छ ।