सोमबार, बैशाख ०७, २०८३

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने,सहयोगको आह्वान

चितवन । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ।
धुर्मुस–सुन्तली फाउण्डेशनले त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ। सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ। रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए। सो रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ। सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए। कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ। अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए ।