सोमबार, बैशाख ०७, २०८३

फागुन १४ मै स्ववियु चुनाव गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १४ गते नै स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि आन्दोलन छाडेर स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रहसमेत गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सरकारका केही मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुको आइतबार साँझ संयुक्त बैठक राखेर प्रधानमन्त्री ओलीले स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै, तर त्यसअघि सरकारले अहिलेका राजनीतिक मुद्दाहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले भने ति सबै कुरा छाडेर स्ववियु निर्वाचनमा आउन आह्वान गरेका थिए ।
फागुन १४ मा नभए यस वर्ष चुनाव हुँदैन : त्रिवि पदाधिकारी
बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी गरेको जानकारी गराएका थिए । यस वर्षको फागुन १४ मा स्ववियु चुनाव नभए अर्को वर्षमात्रै हुने उनीहरुले बताएका थिए ।
बैठकमा विश्वविद्यालयका पदाधिकारीको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘यस वर्ष स्ववियु चुनाव नभए विश्वविद्यालयको क्यालेन्डर प्रभावित हुन्छ । त्यसैले फागुन १४ मै गर्नुपर्छ, यो मितिमा नसकिए अर्को वर्ष मात्रै हुन्छ भनेर त्रिविका पदाधिकारीहरुले भन्नु भएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री रविन्द्र अधिकारी, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशशरण महत सहभागी थिए ।
यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनिया, रेक्टर प्रा.डा. सुधा त्रिपाठी, रजिष्ट्रार प्रा. डिल्ली उप्रेती र विद्यार्थी कल्याण परिषदका निर्देशक गंगाबहादुर थापा सहभागी थिए ।
यसैगरी विद्यार्थीहरुको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सहभागी थिए ।
स्ववियु निर्वाचनको विषयमा छलफल सकिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै छुट्टै छलफल भएको थियो ।