काठमाडौं । कोटेश्वर-कलंकी सडक खण्ड चीनले सोमबार नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो ।
सडकको विस्तारको सकिएसँगै यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर, यो सडक वैज्ञानिक तवरले डिजाइन र निर्माण नभएको गुनासो पनि चर्को सुनिएको छ । सरकारले सर्भिस लेन निर्माणको काम भने सकाएको छैन ।
चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम सकिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिए ।
‘चीनले गर्ने सबै काम सकिएको छ । सोमबार सम्भवतः प्रधानमन्त्री ज्युकै उपस्थितिमा हस्तान्तरण हुन्छ,उनले भने । यो सडक निर्माण्का लागि अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले काम सकेको थियो ।
आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बनेको थियो । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

