टोकियो । जाड़ोमा हिटर ताप्दै काम गर्दा जापानमा एक नेपाली महिलाको कपडामा आगो सल्किएर निधन भएको छ ।
आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपाली महिलाको निधन भएको हो ।
नेपालमा नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल चुकुबा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो ।
हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको जनवरी २१ तारिख सोमबार साँझ निधन भएको थियो ।
निधन भएकी रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ ।
मृतक रिमालको बारेमा जानकारी लिन अस्पताल पुगेका गैर आवासीय नेपाली संघ जापानका तोचिगी संयोजक विकास वस्नेतका अनुसार मृतक रिमालले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको थियो ।
मृतक रिमाल श्रीमानसहित युकीमा बस्दै आएको जानकारी आफुले पाएको संयोजक बस्नेतले बताएका छन् । मृकत रिमालका श्रीमान कम्पनी कर्मचारी भएको बुझिएको छ भने मृतकले पार्टटाइम काम गर्दै आएकी थिईन ।
आगोले पोलेर मृतक रिमालको ७० प्रतिसत भन्दा बढी भाग जलेको अस्पताल स्रोतले बताएको थियो ।
उनको जापानमै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताइएको छ ।

