मङ्गलबार, बैशाख ०८, २०८३

यो सरकार जनताको भएकोले जायज माग पूरा गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ ।
बिहिबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताउनुभयो ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ । सरकार गठनको पहिलो वर्ष संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण भएको, देशको परिवर्तित संरचनाअनुसार अधिकार, स्रोत, जिम्मेवारी बाँडफाँडका लागि आवश्यक नियम कानून निर्माण भएकाले गत वर्षको भन्दा धेरै व्यवस्थित बजेट बनाउनका लागि गृहकार्य शुरु भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त बन्दरगाहले उत्पादन लागत तथा यातायात लागत घटाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रियस्तरको उक्त बन्दरगाहको निर्माण भएपछि स्थानीय क्षेत्र तथा त्यस आसपासमा आर्थिक गतिविधि बढ्ने र स्थानीयवासी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उक्त बन्दरगाहले भारतका तीन तथा चीनका चार बन्दरगाहका वस्तु तथा सामग्रीलाई एकैपटक ल्याएर व्यवस्थापन गर्न सकिने जानकारी दिँदै व्यवसायीलाई भन्सारलगायत अन्य शुल्क सोही स्थानबाट बुझाउन सकिने बताउनुभयो ।