काठमाडौं,१ माघ । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेट र योजना बनाउको लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीको अध्यक्षतामा गठित बजेट तथा स्रोत समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगकै सदस्य, मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य रहनेछन् ।
उक्त समितिले सोमबार बसेको प्रदेश नीति तथा योजना आयोगको बैठकले बजेटको कुल सीमा प्रक्षेपण, खर्च तथा स्रोतसहितको मध्यकालीन खर्च संरचना सीमा निर्धारण, बजेट कार्यान्वयनको स्थितिको समीक्षा तथा आगामी बजेटको प्रक्षेपण गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्य सचिवमा भने आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको बजेट योजना कार्यक्रम महाशाखाका प्रमुख सदस्य सचिवका रुपमा रहने प्रदेश नीति तथा योजना आयोगले बताएको छ ।
प्रदेशको आर्थिक परिसूचकहरुको विश्लेषण गरी समष्टिगत आर्थिक सोच, लक्ष्य, लगानीलगायत संरचना तयारी, आगामी ३ आर्थिक वर्षको कुल सीमा प्रक्षेपण, खर्च तथा स्रोतसहितको मध्यमकालीन खर्च संरचना सीमा निर्धारण र बजेट कार्यान्वयनको स्थितिको समीक्षा गरी बजेट प्रक्षेपण गर्न समिति गठन गरिएको छ ।

