आइतबार, साउन २४, २०८३

संघीय सांसद् राजेन्द्र श्रेष्ठलाई नेवाः अर्गनाइजेशनको सम्मान

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
काठमाडौंको खसिबुँमा हलिं नेवाः दबू वल्र्ड नेवाः अर्गनाइजेशन, नेपाल च्याप्टरको दोस्रो महाधिवेशनको अवसरमा सङघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

हलिं नेवाः दबूको सदस्य समेत रहेका श्रेष्ठले मातृभाषामा शिक्षा, आवास सम्बन्धी हक लगायतका कानुन निर्माणमा उत्पीडितहरूको पक्षमा संशोधनसहित पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
सङ्घीय गणतन्त्रमा समेत नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नेपाली र अंग्रेजी भाषाबाट मात्रै शिक्षा दिने र संस्कृत शिक्षालाई अलग विधा हुने गरी विधेयक दर्ता गरेको भाषिक अधिकारवादीहरूको पक्षमा विधेयकमा संशोधन दर्ता गराउनुका साथै त्यसलाई पारित गराउन विशेष भुमिका खेलेका थिए । त्यसरी नै भविष्यमा मुआब्जा दिए हुने गरी सडक विस्तारको नाममा जनताकोे घरजग्गा लिनपाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायवादी सोच भन्दै त्यसमा पनि संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराएका थिए ।

उक्त कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि जोशीले नेवाः जातिको उत्थानका लागि मातृभाषामा शिक्षालाई जोड दिनुपर्ने बताउँदै विश्वमा फैलिरहेको नेवारहरूले भाषा संस्कृति जोगाउन महत्त्वपूर्ण योगदान गरेको बताए ।
अधिवेशनमा सांसद श्रेष्ठले वर्तमान नेकपाको नेतृत्वले सामन्ती राज्य विस्तारलाई पञ्चायती शैलीमै राष्ट्रिय एकता दिवस भन्दै हिंडेकोमा आलोचना गर्दै राष्ट्रिय एकीकरण भुमि जोडेर होइन भावना जोडेर मात्र हुने बताए । उनले करिव ५६५ वटा रजौटाहरू रहेको भारतको भूमि महात्मा गान्धी, नेहरु वा पटेलले जोडेको नभई ब्रिटिस साम्राज्यवादले जोडि दिए, के अव महारानी भिक्टोरिया एकीकरणका नायक भनि हिंड्ने भन्ने प्रश्न गर्दै देशको बास्तविक एकीकरण केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वशासन हुने गरी सङ्घीयता लागु भएपछि मात्र हुने बताए । उनले नेकपाको ओली नेतृत्व पुनर्उत्थानवादी भएको भन्दै उनीमा पञ्चायतको भूत सवार भएको बताए ।
दबूका कार्यवाहक अध्यक्ष शाक्य सुरनेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले हलिं नेवाः दबू र नेवाः देय् दबू एक आपसमा परिपुरक भएर काम गर्ने बताउँदै नयाँ नेतृत्वले नेवारहरूको हक, हीत र अधिकार प्राप्तिको आन्दोलनमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा दबूको नेपाल च्याप्टरका संस्थापक अध्यक्ष नरेन्द्रभक्त हाडा, नेवाः अगुवा डा. महेशमान श्रेष्ठ लगायतले पनि मन्तव्य दिएका थिए ।