शुक्रबार, चैत १६, २०८०

संस्थाको अधोगतिमा आफ्नो प्रगति खोज्नेहरूलाई धिक्कार छ !

-राधाकृष्ण देउजा,
थाहा छैन किन र कसको योजना चाहनामा हो कुन्नि केहि समययता नेपाल प्रहरीका तमाम सकारात्मक कामलाई ओझेलमा परेर कुनै अमुक मुद्दाको अनुसन्धानमा भइरहेको ढिलाई अनि केही सिमीत प्रहरीको गैरव्यावसायिक गतिविधिलाई चर्चामा ल्याएर सिंगो प्रहरी संगठन र त्यसको नेतृत्वलाई हिलो छ्याप्ने काम भइरहेको छ।

त्यसभन्दा पनि महत्वपूर्ण र डर लाग्दो कुरो त त्यही नियोजित/प्रायोजित दुष्प्रचारको जगमा प्रहरीको नेतृत्व फेरिन सक्ने आधार देख्दै नेतृत्वमा पुग्ने सपना देखिएको कुरो पनि चर्चामा छ ।

कुनै पनि राजकीय निकायहरुमा कार्यरत सदस्य देखि नेतृत्वकर्तासम्मले जिम्मेवारी अनुसारको भूमिका नगर्दा वा गर्नुपर्ने भन्दा फरक गर्दा त्यस्ता जोसुकैलाई वर्खास्त गरिनु स्वभाविक र सामान्य नै मानिन्छ।तर, यदि कसैले कसैलाई कुनै पदमा देख्न नसकेको र नचाहेको वा कसैलाई कुनै पदमा पुग्न मन लागेकै कारण तथ्यलाई तोडमरोड र अपव्याख्या गर्ने काम हुन थाल्छ भने त्यसले राम्रो संकेत गर्दैन ।

कुनै पनि संगठनलाई कमजोर पार्नु पर्यो भने सबैभन्दा पहिला त्यसको नेतृत्वलाई कमजोर पार्नु अनिवार्य हुन्छ र त्यसको निम्ति त्यही संगठनका लालची , पदलोलुप र नेतृत्वसँग असन्तुष्टहरुको प्रयोग पनि अनिवार्य हुन्छ । अनि संगठन कम्जोर हुँदा स्वभाविक रुपमा संगठनको हित नचाहने तत्वलाई नै फाइदा हुन्छ, त्यसको आधारमा भन्ने हो भने नेपाल प्रहरी कमजोर हुँदा त्यसको लाभ कसलाई हुन्छ ? स्वभाविक छ त्यसो हुँदा तस्कर, अपराधी, विचौलिया र ठेकेदारलाई नै लाभ हुने हो।

अहिले केही अमुक घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षित समयमा सफलता पाउन नसकेकै आधारमा सिंगो प्रहरी संगठन र यसको नेतृत्वलाई अकर्मण्य देखाएर गरिएको कुप्रचारले ठ्याक्कै त्यही गरेको छ, जे नहुनुपर्थ्यो । त्यसै कारणले गर्दा हो- आज दिपक मनाङ्गेहरु सार्वजनिक सञ्चार माध्यमबाट प्रहरीको विश्वसनियता र व्यावसायिकतामाथि चुनौति दिरहेका छन् भने राजनीतिक शक्तिकेन्द्रसँग चिनजान रहेका प्रहरीका लालचीलाई बिभिन्न प्रलोभन र आश्वासनसहित सम्पर्क मात्र गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो वरिपरि घुमाइरहेका पनि छन्। यद्यपि, यो र यस्ता प्रवृति प्रहरी संगठनको निम्ति नया भने विल्कुल हैन।

विगतमा पनि पटकपटक भइरहेको आइजीपीलाई वदनाम बनाउँदै आफ्नो कुण्ठालाई शान्त पार्ने काम हुने गरेकै थिए। त्यही नियोजित वदनामीकै जगमा आफ्नो पदीय आकांक्षा पूरा गराउँन सकिन्छ कि भन्ने कोसिसहरु पटकपटक नभएका पनि हैनन, भएकै हुन। भलै अक्सर त्यस्ता कोशिसहरु पानीको फोका सावित हुँदै आएका पनि छन्। तर, परिणाम जे जस्तो हुँदा पनि त्यस्ता दुष्प्रयासहरुको सेरोफेरोमा प्रहरी मजबुतिकरणको सपनाहरुको भने हत्या भैरह्यो , प्रहरी हुनुपर्ने जस्तो वलियो हुन नपाउने यथार्थता भने दोहोरिनै रह्यो।

अहिले पछिल्लो समयमा निरन्तर चलेका दृश्य/अदृश्य खेलहरुले पनि अरु ठोस केही गर्न सक्छ भन्ने त मान्न सकिन्न तर प्रहरी सवलिकरणको अपेक्षा र त्यसअनुसारको कोशिसलाई कम्जोर चाहिँ बनाउने खतरा देखिएको छ। कतिपयले प्रहरी सफलताको तथ्यहरुलाई नजरअन्दाज गर्दै चलाइएको यस अफवाहको जगमा कोही आइजीपी हुने वा बनाइने सपना देखेका होलान्।कतिपयले त्यस्तो गर्न आफुले भूमिका खेल्न सक्ने दावी पनि गरेका होलान् तर त्यस्ता सपना र दावीहरु विगतका कतिपय कालखण्मा जस्तै अहिले पनि पानीको फोको नै हुने पक्का जस्तै छ।

कसैको उची-उडानको सपना पूरा गर्ने नाममा तथ्यहीन आरोपसहित प्रहरी संगठन र त्यसको नेतृत्वको हुर्मत लिने कामले निरन्तरता पाउँनु हुदैन बरु त्यस्ता दुष्प्रचारका महारथि र तिनका आसेपासेको घृणित खेलमा चाहिँ तत्काल लगाम लाग्नु पर्छ।
यद्यपि नेतृत्व परिवर्तनको सपनामा कुनै तुक नभएपनि त्यस्तो होला कि भनेर चलाइएका हल्लाले अन्योल र त्यस्तो गर्नलाई सहयोग होला कि भनेर प्रस्तुत कथित आधारले आमजनतामा भ्रम जरुर पार्नेछ, र त्यसको असर प्रहरी संगठनलाई दीर्घकालसम्म पर्ने देखिन्छ।तसर्थ प्रहरी कमजोर हुँदा कोही वलियो हुदैनन् भन्ने सत्यलाई मनन गर्दै प्रहरीविरुद्ध चलाइएका भ्रमपूर्ण अफवाहलाई रोक्न नसकिए पनि प्रहरी सफलताका तथ्यलाई वाहिर ल्याउन सम्पूर्णको भूमिका हुनुपर्ने देखिन्छ।

हो, निर्मला पन्त वलात्कारलगायत केही घटनामा प्रहरीको स्थानीय भूमिका राम्रो भएन, जसको कारण अपराधी पहिचान अपेक्षाभन्दा ढिला हुन गएको छ, तर प्रहरीले लत्तो छोडेको छैन।स्वभाविक छ कि प्रहरी अनुसन्धानको परिणाम कहिले केही घण्टामा आउँछ त कहिले महिना र वर्षौं लाग्न सक्छ। तर, प्रहरी सुतेर बस्दैन, आफ्नो काम गरिरहन्छ , त्यसैले अपराधीहरु अपराध गरेको वर्षौंपछि पनि पक्राउ पर्ने गरेका छन्, पक्राउ परिरहेका छन्।त्यति मात्रै हैन, प्रहरीको अनुसन्धानलाई अन्यथा मोड्नेमाथि कडा कारवाही पनि भएको छ, हुने गरेको पनि छ। तर यहाँ त , प्रहरीले सफलतापुर्वक र शीघ्र अनुसन्धान सम्पन्न गरेक् घटनाको कुनै चर्चा नगर्ने तर अनुसन्धान सफल हुन नसकेको कुनै अमुक घटनाको चर्चा परिचर्चा गरिरहने र त्यसैको आधारमा सिंगो प्रहरी संगठनलाई अकर्मण्य र नेतृत्वलाई असक्षम ठहर गराउने शैली देखिएको छ, जुन सवैको निम्ति घातक छ।

न्यून तलव र सुविधा, साधन स्रोत र उपकरण अभावबीचमा पनि प्रहरीले बिभिन्न अपराधमा संलग्न अपराधीलाई समातिरहेको, अपराधमा संलग्न वा सहयोगी प्रहरी नै हुँदा पनि त्यसलाई बचाउने हैन बरु तिनलाई कडा कारवाही हुँदै आएको छ।त्यति मात्रै नभएर आफ्नो जिउँज्यान दाउमा राखेर पनि नेपाल प्रहरी जनताको आपतविपतमा जनताको भरपर्दो सारथि बनिरहेको छ। हरेक दिन वलात्कारी, तस्कर, गुण्डा अनि कालाबजारी पक्राउ परिरहेका छन्।

आफ्नो स्वार्थ पूरा गराउँन वा पूरा नभएको आक्रोशलाई शान्त पार्न दौडिएका केही पात्रहरु बाहेक अरुले हेर्दा प्रहरी संगठन सफल छ। र, केही अपवाद असफलतालाई सफलतामा बदल्न दिनरात क्रियाशील रहेको छ।
यही सत्य हो अनि यो सत्य हो भने यस्तो प्रशंसनीय र वहादुरीपूर्ण काम गर्ने प्रहरीको अभिभावक प्रहरी महानिरीक्षकले आफुले गर्नुपर्ने र गर्नसक्ने काम निष्ठापुर्वक गरिरहेको पनि सत्य नै हुन आउँछ। सायद त्यही सत्य बुझेकोले हुनुपर्छ प्रधानमन्त्री केपी ओली (जसलाई प्रहरी संगठन राम्रोसँग बुझेको नेता मात्रै नभएर इतिहासकै सफल र सम्मानित गृहमन्त्रीको रुपमा स्मरण गरिन्छ) सदैव प्रहरीको भूमिकाको तारिफ गर्नुहुन्छ, केही घटनाको अनुसन्धान आशातित छिटो हुन नसकेको सत्यलाई स्वीकार्दै गर्दा पनि उहाँ प्रहरीको निष्ठा, समग्रता र व्यावसायिकताको खुलेर तारिफ गर्नु हुन्छ। सत्य र तथ्यमा आधारित रहेर प्रधानमन्त्रीले व्यक्त गर्दै आउनु भएको त्यही विश्वासले नै पनि प्रहरीभित्र धमिलो पानीमा माछा मार्ने खेल पूरा हुदैन भन्ने त प्रष्ट नै बुझिन्छ, तर सवाल प्रहरी नेतृत्वको निरन्तरता मात्रै हैन, सवाल घरमा आगो लगाएर खरानी जम्म्मा गर्ने सोचलाई कसरी निर्मुल पार्ने भन्ने पनि हो र यसतर्फ सबैको ध्यान जान जरुरी छ।

राज्यको जिम्मेवार तहमा पुग्ने तर गर्नुपर्ने काम नगर्ने वा अन्यथा गर्ने छुट कसैलाई छैन र हुनु पनि हुँदैन तर त्यसको साथसाथै निष्ठापूर्ण ढंगले काम गरिरहेको अवस्थामा कसैको आग्रह/पूर्वाग्रह र कुण्ठाको कारण कोही व्यक्ति वा संस्थाउपर हुने अनावश्यक आक्रमण पनि सह्य र ग्राह्य हुनु हुदैन, त्यसैले अहिले प्रहरी संगठन र यसको नेतृत्वप्रति लक्षित आक्रमणभित्र लुकेको षड्यन्त्र र त्यसको गम्भीर परिणामको यथार्थको विश्लेषण हुनु र गलत खेललाई निषेध र खेलाडीलाई निरुत्साहित गर्नु अनिवार्य छ। प्रहरीका सिपाहीदेखि आइजीपीसम्म कोही पनि भगवान हैनन्, मानव हुन्। उनीहरुले पनि सबै जानेका हुदैनन् कतिपय कुरा सिक्दै गर्दै जाने सुविधा उनीहरुलाई पनि हुन्छ र हुनुपर्छ। तर, जबसम्म उनीहरुको नियत जनताको सेवा र शान्ति सुरक्षाको खातिर इमान्दार ढंगले सक्रिय रहने हुन्छ, तवसम्म उनीहरुलाई जनता र तिनका प्रतिनिधिहरुको साथ समर्थन प्राप्त भइरहनु पर्छ ।

कसैको उची-उडानको सपना पूरा गर्ने नाममा तथ्यहीन आरोपसहित प्रहरी संगठन र त्यसको नेतृत्वको हुर्मत लिने कामले निरन्तरता पाउँनु हुदैन बरु त्यस्ता दुष्प्रचारका महारथि र तिनका आसेपासेको घृणित खेलमा चाहिँ तत्काल लगाम लाग्नु पर्छ। प्रहरीको अधोगतिमा आफ्नो प्रगति देख्ने वा खोज्ने जोसुकैले पनि बुझ्नुपर्छ कि अहिलेको युगमा केवल कुण्ठा मिश्रित फत्तुर आरोपको आधारमा हैन, तथ्य र सत्यसहितको आँकडाको आधारमा मात्रै कसैले सजाय वा पुरस्कार पाउँदा मात्रै जनताले त्यसलाइ स्विकार्ने र स्वागत गर्ने अवस्था रहन्छ।

आफ्नो स्वार्थ पूरा गराउँन वा पूरा नभएको आक्रोशलाई शान्त पार्न दौडिएका केही पात्रहरु बाहेक अरुले हेर्दा प्रहरी संगठन अधिकांश रुपमा सफल अनि केही असफलतालाई सफलता बदल्न दिनरात क्रियाशील रहेको संगठन हो जसको नेतृत्वदेखि जवानसम्मको निष्ठा, इमान्दारिता र व्यवसायिकताप्रति सिंगो देशको भरोसा कायम नै छ।

सत्य यही हो , आशा गरौँ यसभन्दा अन्यथालाई सत्य ठानेर भ्रमित भएका वा आत्मरतिमा रमाएकाको पनि होश छिट्टै खुल्नेछ। @whitehimal