काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न पूर्वप्रहरी कर्मचारीलाई सुझाव दिनुभएको छ ।
आज शनिवार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित पूर्वप्रहरी कर्मचारी परिषद नेपालको छैठौं वार्षिक साधारणसभाको उदघाटन गर्दै आइजीपी खनालले सो सुझाव दिनुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको सहज जीवनयापनका लागि आवश्यक सहयोग गर्न तथा संगठनका तर्फबाट राज्यमा प्रस्तुत गर्नुपर्ने सुझाव तथा मागलाई प्रक्रियाबद्ध रुपमा विधि अनुसार अगाडि बढाउन संगठन तत्पर रहेको बताउनुभयो ।
स्थानीय निकायमा भएका श्रोत साधनलाई संस्थागत रुपमा प्रयोग गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पूर्वप्रहरी कर्मचारीहरूको सीप, ज्ञान, कौशललाई उचित प्रयोग गर्न सकिने चर्चा गर्दै उहाँले पूर्वप्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह समेत गर्नुभयो ।
अपराध अनुसन्धान, कानुन कार्यान्वयन, नागरिक सेवाजस्ता कार्यलाई उच्च नैतिकता एवं उत्कृष्ट रुपमा काम गरी आफ्नो भूमिका निर्वाह गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यस्ता कार्यका लागि प्रहरी कर्मचारीहरूको मनोबल अझै उच्च बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संगठनलाई थप कानुनसम्मत, निर्भिक, निष्ठापूर्ण र इमानदार बनाउन सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूको समेत सहयोग आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कानुन शाश्त्रमा विद्यावारिधी उपाधी हासिल गर्ने प्रहरी उपरीक्षक डा। गणेश रेग्मी, ७५ वर्ष उमेर माथिका पूर्वप्रहरी उपरीक्षक श्यामकुमार तामाङ, पूर्व प्रहरी हवल्दारहरू वीरबहादुर राउत र गञ्जेरप्रसाद श्रेष्ठ तथा उक्त परिषदसँग आबद्ध रही योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षकहरू लगायतले परिषदको सफलताको कामना गर्दै सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
परिषदका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष डा चूडाबहादुर श्रेष्ठले २०७५/०७६ को कार्ययोजना, उपाध्यक्ष नारायण शर्मा आचार्यले स्वागत मन्तव्य र केन्द्रीय महासचिव सनन्दनप्रसाद कुर्मीले २०७४/०७५ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले पूर्व प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण कोषबाट दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो ।

