बिहिबार, बैशाख १०, २०८३

सपनाको सागरमा सयर गरिरहेको सोलुको त्यो यात्रा

सजिना मोक्तान,जापान ।
सपनाहरु देखिरहनुपर्छ र त विपनामा चलायमान युद्ध छेड्न सकिन्छ आफ्नै जिन्दगी र जिन्दगीका यात्राहरुसंग अनि चुम्न सकिन्छ सपनाको सुन्दर मन्जिल ।

सपना र विपनाको तादम्यता के कति होला थाहा छैन । म भने सपनाको सागरमा सयर गरिरहेछु यात्रा ।
शुरुवातीको त्यो पल नदिनाला, पहाड कन्दरा अनि ओसिलो वन जङ्गल केही थान अपरिचित सहयात्रीहरु संगैको यात्रा। कम जोशपूर्ण थिएन । गोधुली साँझ, पहाडी शिलादार सागरमाथा टलल टल्किरहेको हिउँ । नेपाली झण्डा ठड्याउने रहर सवै तम्सिरहेका थिए । तर ठडिरहेको थिएन । खै संभवको कुरा गरेँ कि असंभव हेलिवाट नै गाड्न सकिन्छ नि झण्डा त म भनिरहेकी थिएँ । हिमाल पुगेर फर्किने त्यो वाटो कति खतरानाक अहिले सम्म न कतै विपनामा देखेकी थिएँ न त सुनेकी । तल खुट्टा टेक्ने ठाउँ छैन माथी गाडिएका केही छाते आकारका किलाकाँटा कति भरपर्दो छ थाहा छैन त्यसमाथी पानीको कुलो वगिरहेको छ । हात गलेर फत्क्कै एक सेकेण्ड होस् गुमाए भने जिन्दगीको रामलीला समाप्त । खै किन यस्तै अग्नि परीक्षामा होमाइरन्छ मलाइ मेरो जीवन यात्रा थाहा छैन ।
सपनामा त यस्तो परीक्षा लिइरहेको छ भने विपनामा त भोगिरहेकै छु । तर सपनामै चुमिन्छ सगरमाथाको शिर, विपनामा नपुगेको सोलु पुगिन्छ सपनामा । त्यो प्रकृतिको काख, नाम्चे वजार, स्फटिक जस्तै टल्किरहेको हिउँको टल्काइ, उस्तै थियो सुन्दरता, दुरुस्त थियो वस्ती र पखेरी, त्यो प्रकृतिको देन देखेर मन लोभ्याउथ्यो भित्र भित्रै र प्रकृतिको असिम मायामा वाँधिन्थ्यो मन पनि । त्यो वस्ती एक शेर्पा वस्ती मात्र थिएन ।

पखेरी वस्तीमा लामवद्ध यात्री अनि इन्टेकमा आधीकाल देखिका संस्कृति र सम्पदा, जनजातीहरुका आकृति अंकित झुण्डारुपी सचित्र चित्रण । हरेक जात जनजातीय गरगहनाले सजिसजाउ सजीव मानविय चित्रण । कस्तो आनौठो म सोलुमा सिंगो नेपाल र नेपाली नियालीरहेकी थिएँ ।

उस्तै कन्दरा रंगी चङ्गी जस्ताको टहरा, विमानस्थाल , साना साना कान्ला र लामो पाखो वारीमा कुँदिएको कृत्रिम सडकमार्ग, पूर्वी क्षितिजमा झुल्किएको पारीलो घामको किरणले हाँसिरहेको दन्तलहर हिमाली छाँया । साँच्चै मेरो देश नेपाल मेरो देशको छानो सगरमाथा, त्यो माटोमा जन्मेर हुर्किएकी म कति भाग्यमानी हगि प्रकृतिको अनुपम उपहारको स्वर्गरुपी वरदान । अझै यात्रा वाँकी थियो । थकाइ मार्न मात्र शरीर विसाएकी थिएँ । थाहा छैन मलाई अझै कति शास्ती झेल्नु छ ।
त्यो सपनारुपी विपनामा म कोहीलाई वोकिरहेकी थिए । ऊ थाकेर हिड्न सकिरहेको थिएन ।
मेरो संघर्ष टुङगिएको थिएन । सलाम सपनाको मन्जिललाई यस्तै सयरमा पुगिरहन पाउँ नपुगेका वस्तीहरु, यसरी नै चुमिरहन पाउँ म मेरो देश अनि प्रकृतिका छटाहरु ।