ललितपुर । किराँत समुदायको महान चाड साकेला (मंसिर पुर्णिमा) उधौली २०७५ अर्थात (यलेदोङ ५०७८) सुरु भएको छ ।
यतिवेला किराँत समुदायको बसोबास रहेको पुर्वी जिल्ला र काठमाडौं, ललितपुुर, भक्तपुर लगायत नेपालका केहि स्थानहरुमा यो चाड मनाईने गरिन्छ ।
विश्वभर छरिएर रहेका किँरातीहरु बासोबास गर्दै आईरहेको विभिन्न अन्र्तराष्ट्रि देशहरु हङकङ, अमेरिका, जापान, युएई, कतार, साउदी, मलेसिया र भारतको सिक्किम, दार्जिलिङमा समेत मंसिर पूर्णिमा अर्थात उँधौली चाड धुमधामकासाथ मनाइँदै आईरहेको छ ।
प्रत्येक वर्ष मङ्सिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गरेर उधौली र उभौली मनाउँदै आएको विश्वास गरिन्छ । नयाँ अन्न भित्र्याइएको खुसियालीमा पनि यो चाड मनाउने गरिन्छ ।
किराँत समुदाय बसोबास रहेको ओल्लोकिरात, माझकिरात र पल्लोकिरातमा यतिबेला उँधौलीमयले छाएको छ । प्रकृतिपूजक किरातीले यस अवसरमा आफ्ना पूर्वजको सम्झना गर्दै अन्नको पूजा गर्ने, घरघरमा साकेला नाच्ने र आफन्तबीच शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गर्छन् ।
खेतवारीमा लगाईएको बाली भित्र्याएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मंसिरे पूर्णिमा अर्थात् आजकै दिन पुर्खालाई चढाएपछि मात्रै किरातीले प्रयोगमा ल्याउँने चलन रहिआएको किराँतीहरु बताउँछन् ।
अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने उँधौली कतै १५ दिन त कतै महिना दिनसम्म मनाउने चलन छ ।
२०७५ अर्थात यलेदोङ ५०७८ को यस अवसरमा सम्पूर्ण किरात राई, लिम्बू, याक्खा, सुनुवार लगायत किरात समुदायलाई साकेवा, साकेन्वा, साक्ले, साखेवा, तोषी, तोष, फोल्सादार, चासोक तङनाम, च्याब्रुङ केलाङका्को रुपमा शुभकामना आदनप्रदान समेत एकअर्कामा बाड्ने चलन रहेको छ ।
यो समय विभिन्न स्थानहरुमा किराँत राई लगायतको आयोजनामा साकेला सिलि नाच्ने चलन छ । सानोदेखि ठुलो अभिभावकसम्मका सबैले साकेला नाच्ने गर्छन् ।
किरात राई यायोक्खाका अनुसार आज विहान हात्तिबनस्थित किरात राई योयोक्खालगायतले भुमे पुजा गरी उधौली चाडको शुरुवात गरेको र आज ललितपुर स्थित नखिपोट र गोकर्णमा पनि साकेला नाचको आयोजना रहेको छ ।
किराती समुदायको बाहुल्य भएको पूर्वी पहाडी जिल्लामा यो चाड विशेष ढङ्गले मनाइन्छ । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर पूर्वी तराईमा झरेका तथा काठमाडौँ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर साकेला नाच्दै सामूहिक रूपमा चाड मनाउने चलन छ ।
किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गर्ने गरेर उधौली र उभौलीको रुपमा मान्ने विश्वास गरिन्छ भने नयाँ अन्न भित्र्याएको खुशियालीमा पनि यो पर्व उधौली मनाउँदै आएको पाइन्छ । विशेष गरी आज काठमाडौको नक्किपोट, गोकर्ण लगायतका स्थानहरुमा भेलाई भई सकेला नाच्दैछन् । भने अर्को शनिवार राजधानीकै टुडिखेलमा भव्य साकेला नाच्ने कार्यक्रम रहेको छ ।
किरात भेषभूषा र गरगहना लगाएर किरातको मौलिक बाजा ढोल र झ्याम्टा बजाउँदै सिली टिपिन्छ अर्थात सिलि टिप्दै छमछमी नाच्ने चलन छ । हात, खुट्टाको सहायताले अभिनय गर्दै देखाइने कलालाई सिली भनिन्छ । सिली टिप्ने अग्रणी भूमिका निर्वाह गर्ने पुरुष र महिलालाई क्रमशः सिलिमाङ्पा र सिलिमाङ्मा भन्ने गरिन्छ ।
किसानले बाली लगाउँदा, भित्र्याउँदा मात्रै होइन, कपास रोप्ने, टिप्ने, धागो कात्ने, चर्खा चलाउने, पिउरी पार्ने, धान रोपेको, गोडेको, काटेको, झाँटेको, कुटेको, पिसेको अनि पकाएको, खाएको, जाँतो पिँधेको, तान बुनेकोलगायत विभिन्न जीवजन्तुको हाउभाउसमेत साकेला सिलीमा प्रस्तुत गर्ने गरिन्छ ।

