मङ्गलबार, बैशाख ०८, २०८३

भक्तपुरलाई स्वास्थ्य तथा शैक्षिक हबका रुपमा विकास गरिने : महेश बस्नेत

भक्तपुर । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य तथा शैक्षिक हबका रुपमा विकास गरिने बताउनुभएको छ ।

शुक्रवार चँखु प्रकाश समूहको १५ औं बार्षिकोत्सवमा आयोजित भक्तपुर जिल्ला विद्यालय स्तरीय पाँचौ नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पूर्व उद्योग मन्त्री एवं सांसद बस्नेतले विद्यार्थी उमेर भनेको पवित्र र स्वच्छ उमेर भएकाले उनीहरुसँग नैतिक बल हुने बताउनुभएको छ ।
विद्यार्थीहरुको नैतिक बललाई सामाजिक विकासको सवालमा लगाउनुपर्ने बताउँदै सांसद बस्नेतले भन्नुभयो,‘हामीसँग हाम्रा पूर्खाहरुले दिनुभएको कला, सँस्कृति, सम्पदा र सभ्यता छ, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।

भूगोलको हिसाबले नेपालको सानो जिल्ला भएपनि कला, सँस्कृति र सम्पदाको हिसाबले भक्तपुर संसारकै धनी जिल्ला भएको सांसद बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकाले प्रस्तुत गर्नुभएको नृत्यका माध्यमबाट हाम्रो कला, सँस्कृति र सभ्यतालाई जोगाइरहनुभएको छ, यसमा हामीले गौरव गर्नुपर्दछ ।’

हाम्रो सँस्कृति र सभ्यताविरुद्धका कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउँदै बस्नेतले यदि कसैले यसो ग¥यो भने भाइबहिनीहरुले प्रश्न उठाउनुपर्ने बस्नेतले बताउनुभयो ।

भक्तपुरमा विगत ४२ हप्तादेखि हनुमन्ते नदी सरसफाइ अभियान सञ्चालन भइरहेको बताउँदै सांसद बस्नेतले हाम्रो सभ्यता र सँस्कृतिलाई जोगाउन हाम्रो शहर तथा नदी सफा हुनुपर्दछ बताउनुभयो । उहाँले भन्नुभयो,‘समग्र मुलुकको सरसफाइमा ध्यान दिने हो भने हाम्रो घर आँगन देखि व्यक्तिगत रुपमा पनि सफा हुनु जरुरी छ ।

भक्तपुरलाई समृद्ध र विकसित बनाउनको निम्ति अहिले विशेष कार्यक्रमहरु अगाडि बढाइएको बताउँदै सांसद बस्नेतले स्वच्छ, सुन्दर र हरियाली भक्तपुर निर्माण गर्न हनुमन्ते नदीको दायाँ वाँया २०/२० मिटरको बाटो बाटो निर्माण सुरु भएको बताउनुभयो ।

उहाँले भक्तपुरको परम्परागत बस्तीहरुको संरक्षणको निम्ति नेपाल सरकारसँग सम्झौता गर्न लागेको समेत बताउनभयो । उहाँले भन्नुभयो, ‘हामी नेपालकै सबैभन्दा ठूलो रंगाशाला यही सिपाडोल–नंखेलमा बनाउँदैछौ ।

बस्नेतले भक्तपुरको गठ्ठाघरमा हामी पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको सभागृह बनाउने प्रक्रिया अगाडि बढेको बताउँदै ७ सय रोपनी जग्गामा वीर अस्पताल निर्माण प्रक्रिया समेत अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सूर्यविनायकमा प्राणी उद्यान केन्द्र बनाउँदैछौ भने ग्रामीण भेगका सबै बाटोहरुलाई सुधार कार्य अगाडि बढेको बताए ।