मङ्गलबार, जेठ २६, २०८३

नेपाल आइडल सिजन-२ को ग्रान्ड फिना आज, कसले मार्ला बाजी

ललितपुर । नेपाल आइडल सिजन-२ को ग्रान्ड फिनाले आज हुँदै छ ।
आज शुक्रवार ललितपुरमा हुने सिजन-१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा पुर्याएको छ । फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड छन् । यी चार मध्ये कसले बाजी मार्ने हो, त्यो आज शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था छैन । गतवर्ष कतारमा ग्राण्ड फिनाले आयोजना गरेको नेपाल आइडलले यो वर्ष नेपालमा फिनाले गर्दैछ । ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा शुक्रबार साँझ ६ बजेबाट फिनाले सुरु हुँदैछ । ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट बिक्री गरेको नेपाल आइडलले ई-सेवामार्फत टिकट काट्ने व्यबस्था गरेको छ । ‘नेपाल आइडल’ को निर्णायकका रुपमा न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।

विक्रम बराल :
विक्रम पोखराका हुन् । अडिसन राउन्डमा उनले गोल्डेन माइक पाए । समग्र नेपाल आइडल सिजन–२ को यात्रामा उनले अब्बल प्रस्तुती दिए । निर्णायकले उनलाई गोल्डेन माइकको इज्जत रोखेको कम्प्लीमेन्ट दिए । यही बीचमा उनले चलचित्र ‘प्रसाद’को गीत गाउने अवसर पनि पाए । यसले पनि उनलाई सकारात्मक प्रभाव पर्यो । पोखरा त्यही भूमि हो जसले पहिलो नेपाल आइडल (बुद्ध लामा) दियो नेपाललाई । त्यहीँका प्रतिस्पर्धी हुन् विक्रम । विक्रमसँगै अडिसनमा गोल्डेन माइक पाउने निलिमा थापा मगर प्रतिस्पर्धाबाट बाहिरिइसकेकाले भेगीय भोट आएको खण्डमा विक्रमलाई पोखरा र आसपासको भोट एकलौटी आउनेछ ।
सुमित पाठक :
सुमितको गृह जिल्ला हो झापा । झापा पुग्दा उनका समर्थक तथा सुवेक्षछुकको भीड पनि ठूलै देखियो । नारायण गोपालका गीतदेखि सविन राइसम्मका गीतलाई उत्तिकै मजाले गाए । त्यती मात्रै होइन सुमितले गाएको लोक गीत ‘झम्के गुलेली…’ले पनि कम चर्चा पाएको थिएन । सुमित पनि विक्रम जस्तै गोल्डेन माइक विजेता हुन् । तर, भेगीय भोट आएको खण्डमा त्यसको मार उनले खेप्ने छन् । अस्मिता अधिकारी पनि झापा कै हुन् ।
अस्मिता अधिकारी :
अस्मिता पनि सुमित जस्तै सबै प्रकारका गीत गाउन सक्ने प्रतिस्पर्धी हुन् । उनी उत्कृष्ट चारमा एक मात्रै महिला प्रतिस्पर्धी हुन् । लैंगिक भोट आएको खण्डमा उनलाई फइदा हुनेछ छ । बीएसी नर्सिङकी विद्यार्थी उनलाई त्यतातर्फको भोटको पनि सम्भावना छ । भूगोलका आधारमा आउने भोट भने उनले एकलौटी पाउने छैनन् । सुमित पाठक र उनको गृह जिल्ला एउटै (झापा) भएकाले भेगीय भोट भने बाँडिने सम्भावना छ ।
रवी ओड :
रवी ओड सुदुरपश्चिमका एक मात्रै प्रतिस्पर्धी हुन् । धनगढी घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाएको थियो । त्योभन्दा पनि कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रवीलाई जिताउन लागिपरेको दृश्यले धेरैको मन खिचेको थियो । सबैभन्दा धेरैपटक सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतिस्पर्धी पनि हुन् । उनले अहिलेसम्म पाएको भोट हेर्दा रवी अरुभन्दा बलियो दाबेदार देखिन्छन् ।