सोमबार, बैशाख ०७, २०८३

बडिविल्डिङमा स्वर्ण विजेता महेश्वरले रुँदै भने सरकारबाट सहयोग पाइनँ

अमेरिका । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेर महेश्वर महर्जनले नेपाल र नेपालीको नाम विश्वभर फैलाए । यो उनका लागि मात्र होइन, सारा नेपालीका लागि खुसीको क्षण थियो । तर, उनी सरकारबाट सकारात्मक सहयोग नपाउँदा भने निराश छन् ।

थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने दोस्रोपटक हो ।

वाशिङ्टन डिसीबाट सन्चालित एक अनलाइनलाई अन्तरवार्ता दिने क्रममा महर्जनले आफ्नो यो सफलतामा नेपाल सरकारको भूमिका नरहेको बताए । सञ्चारकर्मीले सोधेका प्रश्नको उत्तर दिने क्रममा महर्जन निकै भावुक बने । केहीबेर उनको गला अवरुद्ध भयो । सञ्चारकर्मीले सोधेकी थिइन्– तपाईंको एउटा फोटोमा आँशु बगिरहेको देखेको थिएँ । यो पक्का पनि खुशीको आँशु हुनुपर्छ । अहिले सम्झनु हुन्छ त्यतिखेर के सम्झेर आँशु झरेको थियो ? यही प्रश्नले उनलाई भावुक बनाएको थियो ।

जवाफ दिने क्रममा महर्जनले साथीभाइले गर्ने समर्थन आफ्नो ठाउँमा छ, तर जहाँबाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ वर्षसम्म पनि पाएको छैन भने । उनले भने, ‘देशले गर्नुपर्ने हो गरेन, तर एउटा सपना थियो त्यो पूरा भएकोमा म खुशी छु । महर्जनले यो पदक जिताउन साथीभाइहरुको ठूलो हात रहेको बताए ।