दुर्गा अधिकारी,
मै खाऊँ, मै लाऊँ, सुखसयल सबै मै गरूँ
मै हाँसू मै बाँचू अरू सब मरून् दुर्वलहरू
कविशिरोमणि लेखनाथ पौडेलको कविताको यो उद्धरण अहिले नेपाली राजनीतिमा प्रस्टै देखिन थालेको छ। काठमाडौंको भैंसेपाटीमा मुख्यमन्त्री तथा सांसदलाई आवास व्यवस्थाको प्रसंग होस्, या त नेपाल वायु सेवा निगमले खरिद गरेका एयरबस कम्पनीका दुईवटा ठूला जहाज (वाइड बडी) प्रसंग, प्रश्न र आंशकादेखि राष्ट्रपतिले चढ्ने १८ करोडको गाडीसम्मको प्रसंग हेर्दा मात्र पनि यो सरकार कमाउधन्धामा लागेको प्रस्टै देखिन्छ। भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, आतंकका साथै नेपाली नागरिकले दिनानुदिन पाउने सास्तीको कसले हेक्का राख्ने ? राज्य सञ्चालनको नयाँ व्यवस्थामा अनेकन जटिलता छन्। काम गर्दै र सिक्दै सिकाउने हो। सिक्ने–सिकाउनेभन्दा पनि अनावश्यक प्रतिस्पर्धा, देखासिकीले देशमा स्वअनुशासन हराउँदै गएको छ। व्यक्तिमा केन्द्रित राजनीतिले देशलाई दिनप्रतिदिन अधोगतितर्फ लैजाँदै छ। सिहंदरबारको अधिकार घरआँगनमा भनियो, तर खोइ कहाँ आएको छ। त्यो अधिकार घरआँगनमा सरकारी कार्यालयमा गयो फटाफट काम हुँदैन। जनताका करबाट तलब खाइरहेका कर्मचारीलाई हामी राष्ट्रका सेवक हौँ भन्ने हेक्का छैन।
राज्य सञ्चालनको व्यवस्था परिवर्तनपछि जनताले विकासमा परिवर्तन खोजेका थिए। चेतना स्तरमा परिवर्तन खोजेका थिए, गरिबी न्यूनीकरणमा परिवर्तन खोजेका हुन्। छाना र मानामा परिर्वतन खोजेका हुन्। केही कारण देशमा झन्झन् हत्या, हिंसा, आंतक, अराजकता, विकृति बढ्दै जानु दुःखद हो। समाजको दुरदराजका बस्ती जो गरिबीको रेखामुनि छन्, पछौटेपन, बेरोजगार लगायतका समस्या झेलिरहेका छन्। पहुँच छैन।
गरिब र दुःखी जनताको सहारा बन्ने पार्टी भन्दै खोक्रो आश्वासन दिँदै आफू सत्तामा पुग्ने तर जनतालाई सधैं सर्वहारा बनाइराख्ने सर्वहाराबाट माथि उठ्नै नदिने, आफू आधुनिक जीवनशैली बिताउने र तिनै वर्गमाथि खेलिरहने अनि तिनका पक्षमा सिन्को नभाँच्ने नेताहरूको मनपरीतन्त्र चुलिएको छ।
नेपाली राजनीतिमा यतिबेला देश र जनता अनि मानवता र पदीय मर्यादा इज्जतभन्दा प्रचारमुखी प्रतिस्पर्धा चलेको छ। प्रचारमुखी प्रतिस्पर्धाले कहीं केही परिवर्तन हुन सक्दैन।
मेरो बुझाइको राजनीति देश र जनताको हितलाई केन्द्रमा राखेर गरिने वैयक्तिक स्वार्थरहित चिन्तन हो। तर वर्तमान राजनीति आफू र आफ्नाको स्वार्थमा केन्द्रित देखिन्छ। नेपाल काठमाडौं मात्र होइन, कर्णाली, मुगु, डोल्पा, अछाम, डडेल्धुरा, तराईका सर्लाही सुनसरी, जनकपुर पनि नेपाल हो, जहाँ दुई रुपैयाँको सिटामोल नपाएर ज्यान गुमाउनुपरेका घटना छन्। चेतनाको स्तर सुधार्न धेरै कार्यक्रम गर्नुपर्ने आवश्यकता छ। बैतडीमा आलुसँग नुन साट्ने परम्परा कायमै छ। छोरीछोरीका बीचमा छोरा जन्मिँदा बाजागाजाका साथ अबिर जात्रा गर्ने समाज अझै छ।
नैतिकता र जिम्मेवारीपनसहित निर्बाध भावनाले काम गर्ने हो भने परिवर्तन सम्भव छ।
देशमा केवल पार्टीका क्याडर मात्र होइन, नेपाली जनता पनि छन् भन्ने ज्ञान सरकारलाई हुनुपर्छ। सरकारले अहिले गरिरहेका सम्मान, सिफारिस गरेका व्यक्तिहरूभन्दा क्षमतावान् र जिम्मेवारीपूर्वक लागेका व्यक्तिको कमी छैन। जबसम्म देशमा गद्दार नेता, भ्रष्ट कर्मचारी, ठग व्यापारी, पार्टीका हनुमान नागरिक समाज, अवसरवादी बुद्धिजीवी, धुपौरे जनता र कार्यकर्ता रहिरहन्छन्, त्यतिबेलासम्म देशको उन्नति गर्न सक्दैन।
सरकारको नेतृत्व गरिरहेको दलसामु धेरै कार्यभार छन्। तर पनि जिम्मेवारीपूर्वक कार्ययोजना ल्याएको पाइँदैन। बोलेर मात्र देश समृद्ध बन्न सक्दैन। देशको अवस्था परिवर्तनका लागि कुनै प्रतिबद्धता गर्न आवश्यक छैन। पार्टीले चुनावमा गरेका प्रतिबद्धता र जनताका आकांक्षाअनुसार काम गर्न नसकेको त छँदैछ, महँगी अकासिनु, सिन्डिकेट अन्त्य गर्ने निर्णयबाट पछि हट्नु, सुन तस्करीमा मुछिएकाले उन्मुक्ति पाउनु, वाइड बडी खरिद प्रमाणका विषयमा पर्यटनमन्त्री नै अनविज्ञ छु भन्ने अभिव्यक्ति जस्ता घटनाक्रमले सरकारको चौतर्फी आलोचना भइरहेको छ।
हिजोको ढुंगेयुगदेखि आज आधुनिक युगसम्म आइपुग्दा नेपाली समाजमा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको चेतनामा अभिवृद्धि भएको त छ, तर राजनीति गर्ने धेरै पात्र बाहिरी शक्तिका खेलौना भएकाले हिजोभन्दा आज राष्ट्र कमजोर भएको देखिन्छ।
यतिबेला जनतालाई कसैको कुनै वादको परवाह छैन। जनताले चाहेको विकासवाद हो। उनीहरूको मुख्य चासोको विषय छाना र माना हो। विश्वका दुई शक्तिशाली र विकसित राष्ट्रहरूका बीचमा आज पनि नेपालीले एक छाक खान र एक सरो लगाउन संघर्ष गरिरहनुपरेको छ। मधेसमा भएका हजारौं बिवघा जमिन बाँझो राख्ने तर धान बाहिरबाट किनेर खाने मुलुक हो कृषिप्रधान देश नेपाल। तर सरकार रेल कुदाउने गफ गर्छ। नेपाल र नेपालीको वास्तविक अवस्था सरकारले छाँट्ने गफसँग कत्ति पनि मेल खाँदैन। नेपाली जनताको दैनिक व्यवहारमा सुधार ल्याउने ससाना स्वरोजगारमूलक गतिविधि नगरेर महत्वाकांक्षी सपना सरकार किन देखाइरहेको छ ? जनताले चाहेको जिम्मेवार नेता हो, जमिनदार नेता होइन। फेरि पनि जमिनदार नै हुने दाउमा राजनीतिक दल, पार्टी कार्यकर्तार जनप्रतिनिधि लाग्छन् भने परिवर्तनको अपेक्षा कसरी गर्ने ?
विकासका दृष्टिले संसारकै महाशक्तिको रूपमा उदाइरहेका चीन र भारतको बीचमा अवस्थित हाम्रो जस्तो मुलुकले दुवै देशबाट लिन सक्ने लाभको कुनै ठोस योजना बन्न सकेको छैन। जुन देशका निम्ति संवेदनशील विषय हो। दैनिक करिब चौबीस सयको संख्यामा विदेश पलायन भइरहेका युवाको संख्या घट्ने होइन झन् बढिरहेको तथ्यांकले देखाएको छ।
विकास भनेको कुनै पनि ठाउँको सकारात्मक परिवर्तन हो। स्थानीय नागरिकको जीवनस्तर सुध्रनु हो। आर्यआर्जन वृद्धि हुनु हो, सभ्य समाज निर्माण हुनु हो। दीर्घकालीन योजनाविना विकासका गफ गर्न सकिएला, तर साँच्चै विकास गर्न सकिँदैन। जनताको रगत पसिना बगाएर सिञ्चित करबाट पालिने अनावश्यक पद खारेजी हुनुपर्छ। नैतिकता र जिम्मेवारीपनसहित निर्बाध भावनाले काम गर्ने हो भने परिवर्तन सम्भव छ। इच्छाशक्ति हुने हो भने बजेट पनि ठूलो कुरा होइन, तर जनप्रतिनिधिमा इच्छाशक्ति पटक्कै देखिँदैन। सानातिना कुरा छाडेर दम्भका साथ अगाडि जाने हो भने सरकारको गति ‘माछा माछा भ्यागुतो’ नहोला भन्न सकिँदैन।@annapurna

