पोखरा । कर सप्ताहको समापनका अवसरमा शुक्रबार गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा व्यवसायीले सरकारलाई प्रश्न गरे, ‘हामीले तिरेको कर केमा खर्च हुन्छ ? सरकारले बेला–बेलामा व्यवसायीलाई मर्का पर्ने गरी कर नीति बनाउने गरेको व्यवसायीको गुनासो थियो ।
त्यसको जवाफमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ कडै रुपमा प्रस्तुत भए । ‘कर भन्ने बित्तिकै किन व्यवसायीलाई रिस उठ्छ ? कर तिर्ने विषय उठ्नेबित्तिकै किन नकारात्मक टिप्पणी हुन्छ ?’ अर्थमन्त्री गुरुङले प्रश्न गरे, ‘जनताले तिरेको कर सरकारले जनतामै नलगाएको भए के व्यवसायीले ब्यापार गर्न सक्थे ?’
अर्थमन्त्री गुरुङले जनताले तिरको कर प्रत्यक्ष–अप्रत्यक्ष जनताकै हितमा खर्च भइरहेको बताए । ‘सरकारले जनताले तिरेको करबाटै स्वास्थ्य, शिक्षामा लगानी गरेको छ । बाटो, बिजुलीमा लगानी गरेको छ । अहिले अनकन्टार ठाउँमा पनि सडक र बिजुली पुगेका छन् । त्यो सबै करबाटै भएको त हो नि,’ अर्थमन्त्री गुरुङले भने, ‘ए हामीले तिरेको करबाट नेताले गाडी चढेका छन्, तलब खाएका छन्, विदेश घुमेका छन् भनेर रोइलोमात्रै गरेर हुँदैन ।
कर सबैले बुझाउनु पर्ने र आम्दानी गर्छ तर कर बुझाउँदैन भने त्यो देशको नागरिक हुन नसक्ने अर्थमन्त्री गुरुङको भनाइ थियो । वित्तीय साक्षरता बढाउँदै सबैलाई करको दायरामा ल्याएपछि मात्रै देश समृद्ध हुन सक्ने अर्थमन्त्री गुरुङको भनाइ थियो ।

