पोखरा । गण्डकी प्रदेशका २० विद्यार्थीले चीनको हाइनान प्रान्तबाट प्राविधिक शिक्षामा छात्रवृत्ति पाउने भएका छन् ।
४ वर्षे डिप्लोमा स्तरको प्राविधिक शिक्षामा २० नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने हाइनान प्रान्तले गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको हो ।
गण्डकी र हाइनान प्रान्तले शुक्रबार मितेरी सम्बन्ध जोड्दै प्राविधिक शिक्षासँगै पर्यटनको विकास, व्यापार र व्यणिज्यको विकास तथा विस्तार, सांस्कृतिक प्रवर्द्धन गर्नेलगायतका विषयमा सम्झौता गरेका हुन् । प्रत्येक वर्ष गण्डकी प्रदेशका ४ जना विद्यार्थीका दरले ५ वर्षसम्म हाइनान प्रान्तमा निशुल्क डिप्लोमा स्तरको प्राविधिक शिक्षा अध्ययन गर्न पाउने छन् ।
प्रदेश सरकारको यो पहिलो मितेरी साइनो हो । गण्डकी प्रदेशका तर्फबाट सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी कमिटीका उपाध्यक्ष सु जुनले मितेरी साइनो जोडिएको समझदारीपत्रमा हस्ताक्षर गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रांगणमा गएको सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सरकारका सातै मन्त्री, सांसद, पोखरा महानगरपालिकाका मेयर, उपमेयर, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, व्यवसायी लगायत उपस्थित थिए ।
दुई प्रदेशबीच विकास र समृद्धिका लागि सहकार्य गर्ने गरी ७ बुँदे समझदारी भएकोछ । चीनको हाइनान प्रान्तबाट ६ सदस्यीय सरकारी टोली र त्यहाँको प्राविधिक इन्ष्टिच्युटका प्रमुख तथा प्रातिनिधि, सौर्य ऊर्जासँग सम्बन्धित प्रतिनिधि गरी १५ जनाको टोली पोखरा आएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गएको असोज असोज ९ गतेदेखि १५ गतेसम्मको हाइनान प्रान्तको विशेष भ्रमण गरी त्यहाँका गभर्नरलगायत सरकारी टोलीलाई पोखरा आउन निम्तो दिएका थिए । उनले त्यतिबेलै दुई देशबीच मितेरी साइनो गाँस्ने र प्राविधिक महाविद्यालयमा हाइनानले सहयोग गर्ने विषयमा सहमति गरेर फर्केका थिए ।
अहिले आर्थिक सहयोग र कुनै आयोजनासँग सम्बन्धित कुनै सम्झौता नभएको भए पनि दुई देशबीचको मितेरी सम्बन्धले दीर्घकालीन अर्थ राख्ने भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता बस्नेतले बताए । चिनिया, अंग्रेजी र नेपाली ३ भाषामा समझदारी पत्र तयार गरिएको थियो ।
गण्डकी प्रदेशसँग मितेरी साइनो लगाउन पोखरा आएको प्रतिनिधि मण्डलका सौर्य ऊर्जासँग सम्बन्धित एक टोली शनिबार अध्ययनका लागि मुस्ताङ जाँदैछ । टोलीले मुस्ताङमा सौर्य ऊर्जा उत्पादनको सम्भावनाबारे स्थलगत अध्ययन गर्ने बताइएको छ । गण्डकी प्रदेशका अर्थ तथा योजना आयोगका सदस्य विष्णु बराल सौर्य ऊर्जाको अध्ययन टोलीसँगै मुस्ताङ जाने छन् । चिनिया टोलीले यहाँ प्राविधिक विश्वविद्यालय, ऊर्जा, पर्यटन, औषधालय, उद्योगलगायतका विषयमा चासो देखाएका छन् ।
हाइनान प्रान्तको हाइकाव नगरपालिका र गण्डकीको राजधानी सहर पोखरा महानगरपालिकाबीच पनि मितेरी साइनो जोडिएको छ । हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङली र पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले दुई महानगरबीच मितेरी साइनो जोडिएको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

