बिहिबार, असार ११, २०८३

दर्जन मुद्दाको आरोप गलत,भ्रममा नपर्न तिलक मल्लको अपिल

टोकियो । लामो समयदेखि जापानमा पत्रकारिता गर्दै आएका तिलक मल्लले गत शनिवार साँझ जापानको नागोयाबाट न्यूज २४ टेलिभिजनको प्रत्यक्ष प्रसारण गरिएको भनिएको कार्यक्रम ’सिधा कुरा जनता संग’ मा प्रस्तोता रवि लामिछानेले बिना प्रमाण निराधार आरोप लगाई आफ्नो मानमर्दन एवं चरित्र हत्या गरेको भन्दै एक विज्ञप्तीमार्फत गम्भीर आपत्ति जनाउनुका साथै उक्त समाचारको खण्डन गरेका छन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत रहेका मल्लले विज्ञप्तीमा, जापानमा सामान्य ब्यवसाय गर्दै आईरहेको सर्बसाधारण ब्यक्ति आफुमाथि दर्जन जति मुद्दा खेपिरहेको र छानबिन भईरहेको भन्ने कपोलकल्पित आरोप सरासर गलत भएको र त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन् – ’यसप्रकारको नितान्त एकपक्षिय र दुराशयपूर्ण समाचार प्रति कोही पनि भ्रममा नपर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहान्छु ।’

विज्ञप्तीमा भनिएको छ – सूचनाको स्रोतकोरुपमा जापानका अमुक निकायको अमुक अधिकारीको हवाला दिदै मुद्दा खेपिरहेको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्ने आफैमा प्रष्ट छ, जब कि जापानमा जो कोहीलाई पनि थाहा भएको कुरा हो कि कुनै पनि निकायले दोस्रो वा तेस्रो ब्यक्तिको प्राइभेसी असम्बन्धित ब्यक्ति वा निकायलाई उपलब्ध गराईदैन । दुई दिनका पाहुना पर्यटकले सम्बन्धित देशमा रहेको राजदूतावासको रोहबर बिना कुन निकायका, के नाम गरेका अधिकारीलाई भेटेर सूचना प्राप्त गरेका हुन् स्पष्ट उल्लेख नगरी अमुक शैलीमा मुद्दा खेपिरहेको भन्ने म माथि लगाईएको पूर्वाग्रहीपूर्ण आरोप पुष्टि गरेर देखाउन म चुनौती दिन चाहान्छु । जापानमा ममाथि कुनै अद्दा, अदालत वा अन्य निकायमा कुनै प्रकारको मुद्दा नभएको स्पष्ट पार्न चाहान्छु ।’

यस प्रकारका एकपक्षिय भ्रामक समाचारका कारण उक्त कार्यक्रमको बिश्वसनीयता माथि गम्भीर आशंका उत्पन्न भएको छ । कानुनी राज्यको उदाहरणीय मुलुक जापानमा कानुनको नजरमा दोषी ठहरिएका जो कोही ब्यक्तिलाई जापान सरकारले तत्काल कार्बाहीको दायरामा ल्याउने कुरा घामजस्तै छर्लङ्गै छ । त्यस्ता ब्यक्तिलाई संरक्षण दिएर राख्न सक्ने हैसियत जो कोहीका लागि पनि जापानमा कल्पनाभन्दा बाहिरको कुरो हो । यदि त्यस्तो कुरा कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्र हुने छ – विज्ञप्तीमा भनिएको छ ।

सत्य, तथ्यमा आधारित सही सूचना संप्रेषण गर्नु राज्यको चौथो अंगको मुलभुत दायित्व हो । तर मिलेर बसेको समाजमा उत्तेजना फैलाउने र आतंकित बनाउने खालका कपोलकल्पित र निराधार आरोप लगाएर ब्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति घोर आपत्तिजनक छ । यसप्रकारका गम्भीर प्रकृतिका त्रुटी तत्काल सच्याईयोस् र भविष्यमा यसप्रकारका त्रुटी दोहोरिन नदिनका लागि थप जिम्मेवार हुन जोड्दार माग गर्दै म माथि लगाईएको गम्भीर आरोपको खण्डन गर्न चाहान्छु – विज्ञप्तीमा उल्लेख छ ।