शुक्रबार, बैशाख १४, २०८१

मोहर्रममा हिन्दू समुदायको पनि उत्साह

नेपालगञ्ज, बाँके।  मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू समुदायको पनि उत्साह देखिन थालेको छ ।

घरघरमा राखेको ताजियालाई विसर्जन गर्न नेपालगञ्जमा निकालिएको बाजागाजासहितको मुस्लिम समुदायको जुलुसमा हिन्दूसमेत रमाएका थिए । केही वर्षयता उक्त पर्वप्रति हिन्दू धर्मावलम्बीको समेत श्रद्धा र साथ बढ्दै गएकोे हो ।

ताजिया विसर्जनका अवसरमा हुने विभिन्न कला, खेललगायत गतिविधिले हिन्दू समुदाय पनि रमाउँदै सहभागी हुने गरेको नरैनापुर गाउँपालिकाका प्रल्हाद विश्वकर्माले बताउनुभयो । हिन्दू–मुस्लिम समुदायमा भाइचारा र सद्भावको प्रतीकका रुपमा यो पर्वलाई मनाइने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “धार्मिक आस्था जे भए पनि भगवान् सबैका एउटै हुन् भन्ने मान्यता पनि हो । भाकल पूरा हुने भएपछि केही हिन्दू परिवारले पनि ताजिया राख्ने गरेका छन् ।”

आफ्ना हरेक पूरा हुने धार्मिक विश्वासका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै आएकामा हिन्दू समुदायले पनि यसलाई निरन्तरता दिन थालेकोे हुनसक्ने स्थानीय अग्रज सञ्चारकर्मी नरेन्द्र थापाको भनाइ थियो ।

मोहर्रमका लागि घरमा ताजिया राख्ने गरिन्छ सामान्यतया रु ३० देखि १० हजारसम्मको ताजिया किनबेच ‘हदिया’ हुने मुस्लिम अगुवा शकील अहमद कादरीले बताउनुभयो । घरघरमा राखिएका ताजिया विसर्जनका क्रममा ढोलकसहित नेपालगञ्जका चोकचोकमा प्रदर्शन गरिएको थियो । प्रदर्शन हेर्न अन्य समुदायका सर्वसाधारणसमेत उत्साहका साथ सहभागी भएका थिए ।

इस्लामिक पहिलो महीनाको चन्द्रमासको ९ तारिकको साँझ ताजिया स्थापना गर्ने र भोलिपल्ट दिउँसो बाजागाजाका साथ स्थानीय कर्वलामा लगेर विसर्जन गर्ने चलन रहेको उहाँको भनाइ छ । ताजिया सेलाउँदा उनीहरुले आफ्नो शरीरमा ब्लेडले चिर्ने जन्जिरले हान्ने समेत गरिन्छ ।

मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मदका नाति इमाम हुसैनको सम्झनामा ताजिया राख्ने गरिन्छ । इस्लामी संवत् १४४० हिजरीको पहिलो महीना मोहरमको ९ तारिख अर्थात् बिहीबार मुस्लिम समुदायले आ–आफ्नो घरमा स्थापना गरेको ताजिया शुक्रबार नेपालगञ्जको फुल्टेक्रमा रहेको कर्वलमा पु¥याएर विसर्जन गरेका थिए ।

हिजरीको पहिलो महीना मोहर्रमको १० तारिखका दिन धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा सहादत प्राप्त गरेको सम्झनामा हरेक इस्लाम धर्मावलम्बीले आआफ्नो घरमा ताजिया राखेर सम्झिने गरिएको उहाँको भनाइ थियो । आजभन्दा १४ सय वर्ष पहिले हुसैनसँगै परिवारका ७२ जना सदस्य शहीद भएका थिए ।