बिहिबार, असार ११, २०८३

पत्रकार रबि लामिछानेको सहभागितामा हुने कार्यक्रम तयारी पुरा,प्रवेश नि-शुल्क

टोकियो । श्रमजिवि पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको तयारी पुरा भएको छ ।
सेप्टेम्वर २१ तारिक शुक्रबार टोकियोको शिनओकुवोस्थित नेपाली मुराहल सोलमारीमा हुन लागेको साधारणसभाको तयारी पुरा भएको जनाएको छ । मंगलबार बसेको कार्यसमिति वैठकले साधारणसभाको तयारी पुरा भएको र सो अवसरमा पत्रकार महासंघ जापानद्वारा प्रकाशित ‘प्रवास पत्रकारिता–२’ स्मारिकाको बिमोचन गर्दै साधारण सभा सम्पन्न गरी सोही दिन साझ ६ बजे देखि टोकियोको नाकानो जिरो हलमा पत्रकार रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रम गरिने महासंघका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।
जापानमा रहेका सम्पूर्ण नेपालीहरुको सहजताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको इजिलिंक रेमिट्यान्सका कार्यकारी अयधकृत डिपी अर्यालले जानकारी दिनुभयो ।
करिव १ हजार ४ सय सिट क्षमताको हलमा जापानवासी नेपालीहरुलाई खुल्ला छलफलका लागि महासंघले आव्हान समेत गरेको छ ।
नेपालका चर्चित टेलिभिजन पत्रकार रबि लामिछानेको सहभागितामा हुने कार्यक्रममा समसामायिक विषयमा छलफल तथा सर्वसाधारणले सहज रुपमा जिज्ञासा राख्न पाउने गरी कार्यक्रमको तयारी गरिएको जनाएको छ ।

शुक्रबार साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यार्थी, पेशाकर्मी, ब्यवसायी, तथा जापानबासी सम्पूर्ण नेपालीहरुलाई नेपाल पत्रकार महासंघ जापान शाखाले अपिलसमेत गरेको छ ।