काठमाडौं,२८ भदौ । हालै सुरु भएको रियालिटी शो द भ्वाइस अफ नेपालको ६ एपिसोड सकिइसक्यो । ६ एपिसोड सकिँदासम्म सबै कोचले पहिलो एपिसोडदेखि छैटौं एपिसोडसम्म एउटै कपडा लगाए । कोच दीप श्रेष्ठले नीलो सर्ट र कालो सुट, कोच अभया सुब्बाले कालोमा फुलबुट्टा भएको लेदरको ज्याकेट र ग्रन्च जिन्स पाइन्ट, कोच सनुप पौडेलले कलेजी टिसर्ट नीलो ज्याकेट तथा कोच प्रमोद खरेलले नीलो टिसर्ट र हरियो ज्याकेट ।

उनीहरुले हरेक एपिसोडमा एउटै कपडा लगाएपछि यसले दर्शकको ध्यान तान्यो । भ्वाइन फ्रेन्चाइजका अन्य विदेशी शो नहेरेका वा हेरेर पनि यसतर्फ ध्यान नदिएका दर्शकलाई यसले अचम्मित तुल्यायो । केहीले त कोचहरुले कपडा फेर्न नसकेको भनेर खिल्लीसमेत उडाए । यद्यपि कोचहरुले यसरी एउटै कपडा लगाउनुको कारण शोको फम्र्याट हो । यो शोको फम्र्याटअनुसार भ्वाइस अफ नेपालमा आगामी ४ एपिसोडमा पनि कोचहरुले यही कपडा लगाउनेछन् ।
ब्लाइण्ड अडिसनसम्म कोचहरुले एउटै ड्रेस लगाउने यो शोको फम्र्याट हो । यसका विदेशी संस्करणहरु भ्वाइस अफ अमेरिका, भ्वाइस अफ इण्डिया लगायतमा पनि कोचहरुले यस्तै गरी एउटै ड्रेस लगाउँछन् । यसबारे प्रमोद खरेलले एक ट्वीटर प्रयोगकर्ताले उठाएको प्रश्नमा जवाफसमेत दिएका छन् । शोको नियम नै यस्तै भएकोले सबै कोचहरुले सधैं एउटै ड्रेस लगाउने गरेका हुन् ।

