चरीकोट ,१५ भदौ । कालिञ्चोक मन्दिरसम्म पुग्न अब ४ मिनेटमै सम्भव भएको छ । कालिञ्चोक मन्दिरसम्म पुग्न निर्माण थालिएको केबलकार आउने दशैमा संचालनमा आएपछि धार्मिक तिर्थयात्रीलाई सहज हुनेछ । कुरीबजारदेखि मन्दिरसम्म पुग्न निर्माणको काम धमाधम भइरहेको छ ।
कालिञ्चोक भगवती मन्दिर दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरीकोटबाट करिब १५ किलोमीटर उत्तरमा ३८४२ मीटरको उचाईमा पर्दछ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमशृखला र प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । यहाँ जनैपूर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भीड लाग्ने गर्दछ । मन्दिरसम्म पुग्न कुरी बजारदेखि डेढ घण्टाको पैदल यात्रा तय गर्नुपर्दछ । तर अब भने ४ मिनेटमै पुग्न सकिन्छ ।
यो कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले बनाएको हो । वैशाखबाट केबलकार सञ्चालनमा ल्याउने भनिएतापनि मौसममा परिवर्तन र खाँडीचौरदेखि चरीकोटसम्मको बाटोको अवस्था नाजुक भएकाले सामान ल्याउनै कठिनाइ हुँदा समयमै सुरु हुन नसकेको संचालक बालकृष्ण शिवाकोटी जानकारी दिए । स्टेसन भवन, टावर निर्माण लगायत करिब ९० प्रतिशत कार्य सकिएको छ, दशैमा जसरी पनि संचालन गर्ने लक्ष लिएको उनले बताए । शिवाकटी यस संस्थाका संचालक मात्र नभइ दोलखा जिल्लाका प्रभावशाली नेता पनि हुन् ।
अहिले नेपालमा भएको केबलकारभन्दा फरक हुने र स्वीस प्रविधिको केबलकार आउने कम्पनीले बताएको छ । आयोजनाले ३५ करोड अनुमानित लागत भनिएतापनि बढेर करिब ५० करोड रुपियाँ पुग्ने सम्भावना देखिएको जनाएको छ ।
केबलकारमा १० जनाको क्षमता रहन्छ भने यसले कुरीबजारबाट करिब साढे चार मिनेटमा मन्दिरसम्मको दूरी तय गर्छ । केबलकार निर्माणसँगै कुरीबजारमा धमाधम नयाँ होटल खुल्ने क्रम पनि सुरु भएको छ । अहिले त्यहाँ करिब दुई दर्जन सानाठूला होटल तथा लज सञ्चालनमा रहेका छन् ।
संचालक समितिले दोलखाबासीको लागि शेएर पनि दिएका छन् । जसले इच्छा लाग्छ उसले शेएर हाल्न सकिने बताएका छन् । अहिलेसम्म ६०भन्दा माथिले शेएर हालिसकेका छन् र यसले ७ वर्षमा लगानी उठाएर नाफा कमाउने लक्ष लिएर अघि बढेको छ ।

