रमेश श्रीसमगर, २८ साउन,टोकियो । तीज आउन ठ्याक्कै एक महिना बाँकी छ । हरेक वर्ष तिजकै अवसरमा जापानमा थुप्रै तीजे कार्यक्रमहरु हुँदै आइरहेका छन् । यस वर्षपनि जापानमा रहेका संघसंस्थाहरु तीजे कार्यक्रमका लागी जुटिरहेका छन् ।
तर, गत वर्ष दर्जनौं कलाकारलाई भिषा नदिएको पिरालोले भने उनिहरु खुलेर तयारीमा जुट्न सकिरहेका छैनन् । उनिहरुमा शंका छ कतै यस वर्षपनि कलाकारको भिषा रोक्ने पो हो कि ?
त्यस्तै उनिहरुलाई डर छ कतै कलाकारलाई एअरपोर्टबाटै फिर्ता पठाउने पो हो कि ?
हुन् त जापान सरकारले केहि वर्ष यता टोकियोमा नेपाली कलाकारलाई ‘इन्टरटेन्टमेन्ट भिषा’ दिन पूर्णरुपमै बन्द गरेको छ । तर पनि बेलाबेला यहाँका आयोजकहरु कलाकारलाई ‘भिजिट भिषा’मा ल्याएर कार्यक्रम गर्दै आइरहेका छन् । जुन कार्य यहाँ गैरकानुनी मानिन्छ ।
जापानमा कुनै पनि कलाकारलाई घुमाउने उद्देश्यले बोलाई ठूलो बजेटको कार्यक्रम गर्नु गैरकानुनी मानिन्छ ।
यस वर्षको तिजे कार्यक्रमका लागी पनि दर्जनौं कलाकारहरु जापान आउने तयारीमा छन् । तर उनिहरु ‘इन्टरटेन्टमेन्ट भिषा’मा नभई सबै ‘भिजिट भिषा’ बोकेर टोकियो छिर्ने तयारीमा रहेको स्रोत बताउँछ ।
विगतमा कार्यक्रमको नाममा नक्कली कलाकारबाट जापान प्रवेश गराएवापत मोटो रकम लिएर शरणार्थी बन्न उत्प्रेरित गर्ने गराउने र ओभरस्टेका कारण पछिल्लो समय जापानले नेपाली कलाकारलाई ‘इन्टरटेन्मेन्ट भिषा’मा कडाई गरेको इमिग्रेशनका अधिकारी बताउँछन् ।
त्यस्तै कलाकारलाई ‘भिजिट भिषा’मा बोलाएर कार्यक्रम गर्दैमा आयोजकलाई केहि फाइदा त होला र कलाकारले मोटो रकम त कमाउलान् ? तर, यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीहरुको भविष्य भने खत्तरामा पर्ने गुनासो नेपालीहरुको छ ।
यता कलाकार तय भइसकेका केहि संघसंस्थाहरु प्रचारप्रसारमा जुटेका छन् ।
कार्यक्रमकै लागी ‘भिजिट भिषा’मा जापान छिर्न लागेका को-को कलाकारले एअरपोर्टमा प्रवेश अनुमति पाउने हुन् त्यो भने हेर्न बाँकी नै छ । आशा गरौं यस पटक सबै कलाकारले प्रवेशका लागी अनुमति पाउनेछन् र कार्यक्रम भव्य हुनेछ ।

