टोकियो,७ साउन । नेपाली र जापानी पहिचान गराउने उद्देश्यले जापानमा पहिलो पटक ‘फेसन रनवे -१०१८ ‘ नामक फेसन शो हुने भएको छ । जापानमा पहिलो पटक नमस्ते सुईङ् क्लबको आयोजनामा ‘फेसन रनवे -१०१८ ‘ नामक फेसन शो हुने भएको जनाएको छ । अगस्ट ५ तारिख,टोकियोको सेतागया क्याम्पसमा दिँउसो २ बजेदेखि सुरु हुने फेसन रनवेमा नेपाली फेसन डिजायनर प्रेम स्याङ्बोको डिजायनमा जापानमा रहेका नेपाली मोडलहरुको पनि सहभागिता रहनेछ ।
नेपालबाट जापानमा अध्ययनका लागि आउने धेरै विद्यार्थीहरुको हुलमा सन २०१२ मा जापान आई, यहीँ फेसन डिजाईनिंगको अध्यायन गरी आफ्नो क्षमता र कलालाई फेसनमा उतार्दै, अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउँदै गरेका फेसन डिजायनर प्रेम स्याङ्बोले देखेका सपनाको मुर्तरुप हो, नमस्ते क्लबको यो प्रथम फेसन शो ले फेसन डिजायनको क्षेत्रमा नेपाली प्रतिभाको पहिचान गराउने आशा गरिएको छ । आईतबार, टोकियोको सिनओकुबोमा आयोजित,सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा, स्याङ्बोले भने – ‘नेपाल रहँदादेखि नै फेसनप्रति रुची र लगाव थियो, जापानमा एकेडेमिक अध्यायन गरेपछि थप नजिकबाट बुझ्ने अवसर पाएँ ।’
अध्ययन पश्चात फेसन डिजायनरकै रुपमा जापानी कम्पनीमा जागिरे जीवन बिताएका प्रेम अव नेपाली मन,औपचारिक अध्यायन र व्यवहारिक ज्ञान लिएर, नेपाली र जापानी समुदायमा आफ्नै पहिचान प्रस्तुत गर्ने जमर्को गर्दैछन् । यस ईभेन्टमा प्रेमले एसियन कलर कम्बिनेसनमा गरेका डिजायनहरु प्रस्तुत गरिने छन् ।
प्रेम जापानमा व्यवसायीक फेसन डिजायनिङ्को क्षेत्रमा कृयाशील पहिलो नेपाली पनि हुन् ।

