सोमबार, जेठ २५, २०८३

आजदेखि साउने सोमबार सुरु, देशभरका शिवालयमा श्रद्धालुको भिड

काठमाडौ,७ साउन । आज पहिलो साउने सोमबार देशभरका शिवालयहरुमा विहानैदेखि श्रद्धालुहरुको भिड लागेको छ ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिनाको रुपमा साउन रहेको र यो महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ ।
चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो । भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ ।
यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वरनाथ, आशापुरी, सांगा, जकपुरको कपिलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ लगायत देशभरिका मन्दिरमा आज विहानैदेखि श्रद्धालुको भिड लागेको छ ।