काभ्रे,३ असार । राष्ट्रिय संगीतकर्मी संघले कलाकारहरुको सामाजिक सुरक्षा नभएको भन्दै कलाकारहरुको हक अधिकारको लागि लड्ने भएको छ ।
सरकारसँग आफनो हक अधिकार खोजीको लागी वार्ता थालिने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले बताएका छन । राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारीहरुका लागि राष्ट्रिय संगीतकर्मी संघ काभ्रेले गत सोमवार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै कार्कीले सो कुरा बताएका हुन् । आवश्यक परे कलाकारका हक हित र सामाजिक सुरक्षाको लागि आन्दोलन नै गर्न समेत संगितकर्मी संघ तयार रहेको उनले बताए ।
अध्यक्ष कार्कीले संगीत बिकास बोर्ड गठन हुन जरुरी रहेको बताउँदै कलाकर्मीलाई अझै पनि बाँच्न सहज वातावरण नभएको बताए । उनले राष्ट्रको गहना मानिने कलाकारलाई सरकारसँग हस्पिटलमा फ्री उपचारको लागी संघले प्रयत्न गरिरहेको धारणा राखे । राष्ट्रिय संगीतकर्मी संघले कलाकार हक अधिकारका लागि सरकारसंग ११ बुदे माग राखेको समेत बताए ।
कार्यक्रममा प्रमुख आतिथि वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाले कलाकारलाई देशको गहना भन्ने गर्छन् तर कलाकार देशका गहना नभई देशका सम्पती भएको धारणा राखे । कलाकारलाई भेदभाव गर्न सरकारले भेदभाव गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघको पुर्ब अध्यक्ष चर्चित लोक दोहरी गायक रेशम थापाले सबैभन्दा पहिलो प्राथमिकता भनेको कलाकार टिकाउन सबै क्षेत्रबाट रोयल्टी उठाउनु जरुरत रहेको बताए ।
अहिले केहि रोयल्टी उठ्ने गरे पनि वास्तविक कलाकारको हातमा रोयल्टी पुग्न नसकेको बताउँदै थापाले अब यसको नेतृत्व संगीतकर्मीसँगले गर्ने बताए । यस्तै राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, राष्ट्रिय संगीतकर्मी संघका उप महासचिव गोविन्द दुलाल, राष्ट्रिय संगीतकर्मी संघका प्रदेश नं । ३ का संयोजक दिपक रिमालले कलाकारिताका वर्तमान अवस्था तथा यस क्षेत्रमा व्याप्त रहेका विसंगति अनि चुनौती बारे आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि सापकोटा, लोक गायिका सरस्वती सापकोटा, लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका सचिव हाँस्य कलाकार भगवान खत्री, मान मोक्तान, रश्मी लामा, अनिसा लामा लगायतले आकर्षक प्रस्तुति दिएका थिए ।
चौंथो महाधिवेशनले अध्यक्षमा राजेन्द्रकुमार कार्की निर्वाचित
संघको हालै सम्पन्न चौंथो महाधिवेशनले अध्यक्षमा राजेन्द्रकुमार कार्की,उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो ।
महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार छन् । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा छन् । त्यसैगरी सातै प्रदेशमा प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको थियो ।

