सोमबार, जेठ २५, २०८३

टोकियोमा नेपाली चलचित्र “कान्छी” प्रदर्शन गरिने

टोकियो,२९ जेठ । नेपाली चलचित्र कान्छी अब जापानवासी नेपालीहरुले पनि हेर्न पाउने भएका छन् ।

नेपाली दर्शकहरुले अत्यधिक रुचाएको चलचित्रलाई साईनो ईन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गराउन लागेको हो । आयोजक साईनोका अनुसार “कान्छी”आउँदो जुलाई १ तारिख आईतबारका दिन टोकियोको नाकानो जिरो हलमा प्रदर्शन गरिने छ ।

चलचित्र कान्छीलाई जापानवासी दर्शकले हालसम्मकै सरल टिकट मूल्यमा हेर्न सकिने बताईएको छ । आयोजकका अनुसार अग्रिम टिकट बुक गर्नेहरुले केबल ९ सय ९९ सय येनमा हेर्न सक्नेछन् । चलचित्र हलको गेटमै टिकट लिनेहरुको हकमा भने प्रति टिकट १५ सय जापानी येन तोकिएको छ ।

“कान्छी”मा आकाश अधिकारीको निर्देश तथा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, रमेश अधिकारी, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै शम्भूजित बाँसकोटा, राजनराज शिवाकोटी तथा अर्जुन पोखरेलको संगित रहेको छ ।

‘कान्छी’ नेपाली दर्शकहरुले अत्यधिक रुचाएको चलचित्र हो । अभिनेत्री श्वेता खड्का झन्डै साढे दुई वर्षपछि दर्शकमाझ आउन आएकोले पनि यो चलचित्रले बेग्लै किसिमको कौतुहलता पैदा गरेको थियो । आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमार्फत श्वेतालाई पहिलो पटक अभिनेता दयाहाङ राईको जोडीका रूपमा हेर्न पाइनेछ ।

चलचित्रमा उनीहरूको जोडी आकर्षक देखिएको छ । चलचित्रका दुई गीत चरी चट्ट परी तथा यो जीउ दाउमा लाउने मैले लोकप्रिय छन् । चरी गीतले त यूट्युबमा एक करोड दर्शक पनि पाइसकेको छ । यो चलचित्रलाई सांगीतिक रूपमा सवल बनाउन तीन स्थापित संगीतकारका गीत समावेश गरिएको छ भने यसमा चलचित्रमा राजनराज शिवाकोटी, अञ्जु पन्त, युवराज चौलागाईं, धर्मेन्द्र सेवान आदि गायक–गायिकाको पाश्र्व गायन छ ।

वसन्त श्रेष्ठको कोरियोग्राफीमा चलचित्रका गीतहरू आकर्षक बनेका छन् । जोससोम, मुस्ताङ तथा काठमाडौंमा छायांकन गरिएको यो चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्का स्वयंले गरेकी हुन् । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रको कथा याम थापाले लेखेका हुन् ।
“कान्छी” टोकियो बाहिरका विभिन्न सहरहरुमा पनि प्रदर्शन गरीने बताईएको छ ।