बुधबार, असार १०, २०८३

मोना जापानको अध्यक्षतामा दिपक कार्की निर्विरोध निर्वाचित

टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौं अधिवेशनबाट बेनी नगरपालिका–९ गलेश्वरका दिपक कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आईतवार टोकियोमा सम्पन्न भएको अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षद्वयमा देवेन्द्र भण्डारी र दिल केसी, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा काजी थापा, कोषाध्यक्षमा पवित्रा पुन र सहकोषाध्यक्षमा टिका छन्त्याल रहेका छन् भने प्रवक्तामा इन्दिरा गर्बुजा चयन भएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

उनका अनुसार समितिको सदस्यहरूमा ज्ञानेन्द्र कार्की, ओमप्रकाश तुलाचन, कृष्ण मल्ल, हिमबहादुर चोखाल (बिशाल), धना पुर्जा, दिपक सापकोटा, करिश्मा गर्बुजा, भूपेन्द्र बरुवाल, बिजय केसी, झलकबहादुर खत्री, सागर कार्की र निर्मल बरुवाल रहेका छन् । अधिवेशनले साँस्कृतिक संयोजकमा प्रेम पुन, युवा तथा खेलकुद संयोजकमा हेम जुग्जाली र महिला संयोजकमा दिलु भण्डारीलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले विश्वभर छरिएर रहेका म्याग्देलीले आर्जन गरेको सीप,अनुभव र आर्थिकलाई आफ्नै जिल्लाको विकासमा खर्च गर्नुपर्ने बताए । ‘विश्वभर मोनाको सञ्जाल विस्तार गदैंछौ,’हामीले जन्मभुमीमा केही योजनाका साथ काम गर्नुपर्छ’ थापाले भने ।

उनका अनुसार बिश्वका २८ भन्दा बढि मुलुकमा मोना बिस्तार भइसकेकाले केही देशमा विस्तारको तयारी भइरहेको बताए। मोनाका संस्थापक अध्यक्ष तथा संरक्षक, म्याग्दी विकास मञ्चका अध्यक्ष तेजप्रकाश पुन (प्रकाश) ले विश्वभर रहेका म्याग्देलीलाई एउटै छातामा गोलबद्ध गराउन म्याग्देलीको सञ्जाल बनाएको बताउँदै हाल विश्वभर म्याग्देलीको एकता र सहकार्यबाट उत्साहित भएको बताए ।

‘जन्मभूमिप्रतिको दायित्व बोध गराउन मोनाको अवधारणा बिश्वब्यापीरुपमा बिस्तार गरिएको छ,‘मोनाबाट म्याग्देलीको एकतालाई अन्य जिल्लाल समेत सिको गरेका छन्’ पुनले भने । म्याग्देलीको जस्तै नेपालका विभिन्न जिल्लाबाट विदेशमा गएकाले समेत संगठित भएको बताए । यसैगरी मोना दक्षिण कोरियाका अध्यक्ष किसान सेञ्चुरीले मोनाका राष्ट्रिय समितिहरुबीच सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले समेत आफ्नो भनाई राखेका थिए ।

मोना जापानका अध्यक्ष महेन्द्र वानियाँको सभापतित्वमा भएको अधिवेशन समारोहमा एनआरएन आइसीसीका सदस्य कपिलदेव थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका सहअध्यक्ष सुकमान थिङ तामाङ, गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।