मङ्गलबार, बैशाख ०८, २०८३

टोकियोमा दोस्रो पटक सामुहिक बेल विवाह

जापान : नेवा: अन्तराष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रो पटक सामुहिक बेल विवाह “ईही” र लप्ते भोज (झों भ्वय)भव्यताका साथ सम्पन्न गरेको छ ।

भगवान बिष्णुको रूपमा बेल सँग विवाह गर्ने यस नेवारी परम्परा बिदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे । टोकियो कोटो कु कितासुना गो चोमे दान्ची हलमा सम्पन्न यस कार्यक्रममा कुल नौ जाना बालिकाहरूको सहभागिता रहेका थिए ।

बालिकाहरू क्रमश: युना श्रेष्ठ,गाभास्ती तुलाधर, आसना पालिखे, अदिती श्रेष्ठ, तोमोमी साथी श्रेष्ठ, आईरी शाक्य, आकी राजभण्डारी, आएरा कर्माचार्य, साराना महर्जन आफ्नो परम्परागत भेषभुषा र गहनामा सजिएका थिए। साना दुलहीहरू अत्यन्तै राम्री देखिएका थिए । नेपाली लगायत जापानिज आगन्तुकहरूले खचाखच भरिएको हलमा विवाहको उत्सव हेर्दै रमाएका थिए । सहभागीहरू आयोजकको तयारीको प्रशंसा गर्दै, बिदेशमा पनि यति सम्मको कार्यक्रम हुनसक्छ भनेर सोचेका पनि थिएनौं भन्दै थिए। यस कार्यक्रमा सहभागीहरू टोकियो वरपर बाट मात्र नभएर टोकियो बाट टाढा निगातबाट समेत आएका थिए । विवाह कार्यक्रम पछी भोज गर्ने चलन छ । आयोजकले बेलुका नेवारी परम्परागत भोज “लप्ते भोज (झों भ्वय) समेत आयोजना गरेको थियो ।

बेल विवाह गर्ने अभिभावकहरूको आफन्तजनहरू, अन्य सहभागीहरू समेत गरेर एक सय जाना भन्दा बढी थिए । एकै दिनमा दुईवटा कार्यक्रम गर्न आयोजकलाई हम्मे हम्मे जस्तो देखिएता पनि सबै योजनाबद्धरूपमा गरिएकोले कार्यक्रम राम्ररी समापन भयो । विदेशमा रहेर पनि आफ्नो मौलिक परम्परा र संकृति छोड्न नसकिने भएकोले व्यस्त सहर टोकियोमा रहेर पनि यस्ता नेवारी परम्परागत कार्यक्रम आयोजना गर्दैछौ फोरमका महा सचिव शिव तण्डुकारले बताउनुभयो । बुद्ध जयन्ति , क्वाटी पुन्ही, दशैं, म्ह पुजा जस्ता आफ्नो संस्थाको वर्षिक कार्यक्रम रहेको र स्थापनाकाल देखि गर्दै आएको जानकारी दिनुभयो ।

साथै जापानमा छरिएर बसेका नेवार समुदयालाई संस्थामा आवद्द भई, संस्थालाई अझै बलियो बनाई, अझ बृहत कार्यक्रम गर्नको निमित्त आह्वान समेत गर्नुभयो ।

तस्विर : शिव तण्डुकार,जापान